काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही सयमभित्र भ्रष्टाचारविरुद्ध ठूला ठुला एक्सन हुन लागेको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपालको १९ औँ साधारणसभा एवं २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, '१० वर्षे जनयुद्धको को कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी जसरी हाम फालेका थियौं, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथितिविरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौं । हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौं, त्यसैगरी अहिले पनि हामी त्यही संकल्पका साथ लागेको छौं ।'
प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौं जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा साथ दिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, 'जसरी १० वर्षे जनयुद्धमा लाखौं करोडौं जनताको साथ पाएका थियौं, त्यसैगरी अब पनि हामी साथ पाउनेछौं । अहिले नदेखिएको मात्रै हो । केही समय भित्रै ठुला ठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठूलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं ।'
प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठाले भन्दा पनि संख्याले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ । यो कम्युनिष्टको सभा रहेनछ । बिचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ । देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन् ।'
सरकारको नेतृत्वमा गएदेखि आफूहरुलाई असफल पार्ने तत्व लागिपरेको भए पनि आफूहरु घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उहाँले भन्नुभयो, 'हामी नेतृत्वमा बसेको दिनदेखि अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको छ । तर पनि हामी ती घेरालाई छिचोल्दै यो बिन्दुसम्म आइपुगेका छौं । सुशासन र समृद्धि नै प्रमुख लक्ष्य भएकाले अवसर र चुनौती दुबै हाम्रामाझ छ । यहाँसम्म आउँदा जनतामा एउटा नयाँ अभियान र संस्कारको सुरुवात हुन खोजेको अनुभूति भइरहेको छ ।'
प्रधानमन्त्री प्रचण्डले सहितका सपना पूरा गर्नका लागि पनि आफूहरुले अन्तिम लडाइँ लड्नै पर्ने अवस्था आएको बताउनुभएको छ । उहाँले प्रेस सेन्टर नेपाल जनमत तयार पार्ने अग्रमोर्चामा रहेकाले इमान्दारिताका साथ र निष्ठाका साथ कृष्णसेन लगायतका सहिदलाई स्मरण गरेर स्वयम्सेवी तरिकाले लडाइँमा साथ दिन आग्रह पनि गर्नुभएको छ ।