काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोर्याउन नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समिति काठमाडौंले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा बौल्दै नेता सिंहले १३ औं महाधिवेशनपछि नेतृत्व पाएकाले जिम्मेवारी पूरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले पटक-पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पूरा गर्न नसक्ने नेतालाई पुन: जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै बिग्रने बताउनु भयो ।
‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु भनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन्’, उहाँले भन्नु भयो, ‘अवसर पाएर पनि काम नगर्नेहरुलाई रिपिट गर्न हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन ।’ साथै नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशील सदस्यता विवाद कायम रहेका भन्दै विधि र नियमपूर्वक समाधान गर्नुपर्ने बताउनु भयो ।
उहाँले रौतहट जिल्लाका कार्यकर्ताहरु धर्ना बसेको सय दिन बितिसक्दा पनि नेतृत्व मौन रहेका भन्दै आपत्तिसमेत जनाउनु भयो । विधि र नियमअनुसार अगाडि बढेको भए अहिलेको समस्या नआउने भन्दै नेता सिंहले विधि र नियम पालना गर्न अहिलेको नेतृत्वलाई कसले छेक्यो भन्ने प्रश्न गर्नु भयो ।
पार्टीका आगामी १४ औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनु पर्ने उहाँको भनाइ छ । साथै नेता सिंहले अहिले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावनाअनुसार नै समाधान गर्नु पर्ने बताउनु भएको छ । न्यायालयमा राजनीतिक व्यक्तित्वले हस्तक्षेप गर्न नहुने भन्दै नेता सिंहले निश्चित व्यक्तिको स्वार्थका कारण न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको बताउनु भयो ।
फरक प्रसङ्गमा नेता सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको बताउनु भयो । जनतालाई राहत दिने ठाउँमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको उहाँले टिप्पणी गर्नु भयो ।
आफूले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको भन्दै नेता सिंहले मूल्यवृद्धि तत्काल फिर्ता ल्याउन माग समेत गर्नुभयो ।