घलेभन्ज्याङ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका सामुदायिक (सरकारी) विद्यालयको नतिजा लज्जास्पद र चिन्ताजनक रहेको पाइएपछि संघीय सांसद हितबहादुर तामाङले शिक्षकहरुले राजीनामा दिएर सबै विद्यायय बन्द गराउनुपर्ने चेतावनी दिनुभएको छ ।
पञ्चकन्या गाउँपालिका-४ थप्रेकमा अवस्थित श्री उदय जालपा माध्यमिक विद्यालयमा निर्मित नेपाल-भारतमैत्री भवन हस्तान्तरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री तामाङले शिक्षाको गुणस्तर सुधार्न नसक्ने सरकारी विद्यालयहरुको औचित्य नरहने बताउनुभएको हो । उहाँले सरकारी विद्यालय भवनबाहेक शिक्षक/शिक्षिकाको तलबभत्तामा राज्यले ठूलो लगानी गरे पनि शिक्षकहरुको अक्षमता, गैरजिम्मेवारी र हेलचेक्र्याइँले विद्यार्थीहरुको भविष्य अन्योलमा परिरहेकोले बरु उनीहरुलई दिने तलबभत्ता निजी विद्यालयमा उपलब्ध गराएर उतै विद्यार्थी पठाउनुपर्ने अवस्था बन्न लागेको समेत बताउनुभयो ।
'विद्यालयको हिसाबकिताब नगरौं । तपाईंहरु कतिजना शिक्षक/शिक्षिका हुनुहुन्छ । शिक्षकहरुले खाने गरेको तलब एक ठाउँमा राखेर । पारि भोर्लेको स्कुलको फि बुजेर बरु यो स्कुल सबै खारेज गरिदिम् । हामीले पनि जागिर छोडिदम् । आजैबाट राजीनामा दिऔं । राज्यबाट प्राप्त हुने तलबले यही गाउँका विद्यार्थीहरुलाई पैसा तिरेर पठाइदिम् । बरु त्यो गरुम् न,' उहाँले थप्नुभयो, 'निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई तिरेको फिभन्दा बढी रकम राज्यको तर्फबाट यो विद्यालयमा लगानी भइराखेको छ । यो एकदम चिन्ताजनक कुरा हो । यस्तै भइरहने हो भने मुलुक कहिले पनि उँभो लाग्दैन ।'
हालै कक्षा ८ को जिल्लास्तरीय परीक्षामा सहभागी पञ्चकन्याका डेढ सय हाराहारीका विद्यार्थीमध्ये जम्मा १६ जनामात्रै उत्तीर्ण भएको विषयमा सांसद तामाङले उक्त धारणा राख्नुभएको हो । '१९४ ले परीक्षा दिँदाखेरी पालिकास्तरमा जम्मा १६ जनाले उत्तीर्ण हुनु भनेको यो सामान्य कुरा हो ? यसलाई सामान्य कमजोरीको रुपमा लिएर हामीले चित्त बुझाएर बस्न सक्छौं । किमार्थ सकिन्न,' उहाँले अगाडि भन्नुभएको थियो, 'सबै शिक्षक/शिक्षिकाले समान रुपमा कमजोरी गरिराख्नुभएको छ त भन्दिनँ तर कतिपयले राम्रै मिहिनेत गरिराख्नु भएको होला । कतिपय शिक्षकले पढाएका विषयमा विद्यार्थीले राम्रै उत्तीर्ण गरेका होलान् । तर विद्यालयको नेतृत्व गर्नेले बुझ्नै पर्छ । किन त्यस्तो भयो ?'
पञ्चकन्यामा विभिन्न तहका २८ वटा सामुदायिक र २ वटा निजी विद्यालय छन् । सामुदायिक विद्यालयमा पछिल्ला वर्षहरुमा एसईई परीक्षामा समेत नतिजा नाजुक खालको आउने गरेका छन् ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङ, गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, विद्यालय परिवारलगायतको उपस्थिति थियो ।