घलेभन्ज्याङ । नेकपा (माओवादी केन्द्र) पञ्चकन्या गाउँ कमिटी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रमको तयारीमा जुटेको छ ।
अर्को शनिबार (जेठ २७) गते प्रधानमन्त्री प्रचण्ड पञ्चकन्या आउनुहुने भएपछि माओवादी पञ्चकन्याको शनिबार बैठक बसेर तयारीलाई चुस्तदुरुस्त पार्ने निर्णय लिइएको हो । गाउँ कमिटी सदस्य रामहरि भण्डारीका अनुसार मेस व्यवस्थापन, अतिथि सत्कार, पानी व्यवस्थापन, गेट निर्माणजस्ता समिति बनाएर तयारीलाई अगाडि बढाउने निर्णय भएको छ । माओवादी केन्द्रका केन्द्रीय अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड पञ्चकन्या गाउँपालिका-३ मा नवनिर्मित प्रशासकीय भवन उद्घाटनका लागि आउन लाग्नुभएको हो । उक्त दिन गाउँपालिकासँगको सहकार्यमा प्रधानमन्त्री सहभागी कार्यक्रमलाई व्यवस्थित पार्ने विषयमा शनिबार छलफल भएको नेता भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाले बिहान ११ बजे गाउँपालिकाको केन्द्र लाकुरीभन्ज्याङमा कार्यक्रम राखेको छ ।
प्रधानमन्त्री प्रचण्डको समय अनुकूल रहेमा गाउँपालिकाको अस्थायी कार्यालय रहेको घलेभन्ज्याङबाट विभिन्न सांस्कृतिक झाँकी, बाजागाजासहित लाकुरीभन्ज्याङसम्म जाने तयारी छ । प्रधानमन्त्रीको समय अभाव भएमा सिधै हेलिकप्टर लाकुरीभन्ज्याङ नजिक अवतरण गराइने छ । समारोहमा पूर्वमन्त्री तथा संघीय सांसद हितबहादुर तामाङ, संघीय सांसद बिमला सुवेदी, प्रदेश सांसद राधिका तामाङ, रमेशकुमार महतलगायत जिल्लाका जनप्रतिनिधिहरु, विभिन्न दलका नेताहरु र स्थानीयलाई निम्तो दिइएको छ । प्रचण्ड यसअघि पनि २०७६ माघ २५ गते शनिबार पञ्चकन्या गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता उद्घाटनका लागि पञ्चकन्यामा आउनुभएको थियो । वहालवाला प्रधानमन्त्रीजस्तो व्यक्ति पञ्चकन्या आउनेभएपछि स्थानीय उत्साही देखिएका छन् ।
यसैबीच माओवादी पञ्चकन्याले 'सहिद स्मृति छात्रा वृद्धि कोष' स्थापना गर्ने निर्णय गरेको जनाएको छ । सहिद, बेपत्ता घाइते तथा पार्टीमा योगदान गरेका सन्ततिहरुका लागि सुरुमा ५ लाख रुपैयाँबाट अक्षय कोष सुरु गर्ने निर्णय भएको सदस्य भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो छात्रा वृद्धिमार्फत १० वर्षमा प्राविधिक शिक्षामा पार्टीका सन्तति करिब ६० जना उत्पादन गर्ने लक्ष्यसमेत लिइएको छ अक्षय कोषका लागि पालिकाभित्रका संघीय सांसद, प्रदेश सांसद, जिल्ला समन्वय प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य, पार्टी प्रदेश कमिटी सदस्य, जिसस सदस्य, गाउँपालिका कमिटी, वडा पदाधिकारी, संगठित सदस्यहरु, पार्टी निकट कर्मचारीहरुबाट वार्षिक रुपमा सहयोग उठाइने छ ।
माओवादी पञ्चकन्या अध्यक्ष मणिनाथ लामिछानेको अध्यक्षमा भएको बैठकमा वाग्मती प्रदेश कमिटी सदस्य एवं पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसीलगायत सहभागी हुनुहुन्थ्यो ।