बैंकक । विश्वभरका तामाङहरुको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलनअन्तर्गत आइतबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ ।
थाइल्यान्डको हुवाहिल सहरमा शनिबार उद्घाटन भएको सम्मेलनमा नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन आयोगका प्रमुख अधिबक्ता डा. कुन्साङ योन्जनले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनको संशोधित विधानबमोजिम नयाँ कार्यसमिति पाउनेछ । संशोधित विधानअनुसार अध्यक्ष १ जना‚ महासचिव १ जना‚ उपमहासचिव २ र ९ वटा विभागहरू हुनेछन् ।
उद्घाटनपश्चात् महासचिव र कोषाध्यक्षको सांगठानिक र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । 'जाम्बुलिङ खोरला ङ्हा, तामाङ रिमठिम तेन्बा ङा’ भन्ने मूल नाराको साथ सुरु भएको सम्मेलन संस्थापक अध्यक्ष परशुराम तामाङले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा ताम्बा, बोन्बो र लामाबाट साङसेरकेम गरेका थिए । सम्मेलनमा विश्वभरिका १७ मुलुकका १९ सदस्य संस्थाहरुको तर्फबाट प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
तामाङ समाज थाइल्यान्डको व्यवस्थापनमा जारी सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आज सकिने पूर्वनिर्धारित कार्यक्रम छ । सम्मेलनमा थाइल्यान्ड नेपाल‚ जापान‚ म्यानमार, भारत‚ अमेरिका‚ कोरिया‚ हङकङ‚ बहराइन‚ युएई‚ पोर्चुगल‚ रोमनिया, माल्टा, थाइल्याण्ड, बर्मा, जापान, बेल्जियम, मलेसिया, कतार र इटालिका प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता छ ।
परिषद्को सन् २००२ डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भएको थियो । विशेष गरेर सम्मेलन नेपाल र भारतमा मात्र हुँदै आएकोमा पहिलो पटक तेस्रो मुलुकमा आयोजना गरिएको हो ।