सिन्धुली । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको बज्रमारा सिँचाइ आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ ।
गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पर्ने दसौं हजार बिगाहा उर्वर भूमि सिँचाइ गर्नसक्ने बज्रमारा सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न पालिकाका अध्यक्ष बज्रध्वज वाइबालगायतका स्थानीय टिमसँग सो स्थानमा पुग्नु भएको हो ।
सिन्धुली, काभ्रे र मकवानपुर ३ जिल्लाको सीमाना जोडिएको स्थल भोर्लेनी नजिकै वाग्मती किनारमा रहेको बज्रमारामा ड्याम बाँधेर वाग्मतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त दसौं हजार खेतीयोग्य जमिनमा सिँचाइको लागि पुर्याउन सकिन्छ । यस आयोजनाको डिपिआर समेत तयार भैसकेको छ ।
बहुवर्षीय आयोजनालाई आर्थिक वर्ष २०८० र ८१ को बजेटमा प्राथमिकतामा राखेर काम सुरु गर्ने जानकारी मुख्यमन्त्री लगायत मन्त्रीहरूले गराउँनुभएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठ सोही निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मन्त्री श्रेष्ठले वाग्मती प्रदेश सभाको ६६ वटा निर्वाचन क्षेत्रमध्ये मानव विकास सूचकाङ्कमा ६६ औं नम्बरमा रहेको यस क्षेत्रलाई ५ वर्षभित्र प्रदेशकै नमूना क्षेत्र बनाउने आश्वासन दिनुभयो ।
सुनकोसी मरिण डाइभर्सनले अबको केही वर्षभित्र मरिण र हरिहरपुरगढी गाउँपालिकामा अहिले बगर बनिरहेको लाखौं बिगाहा जमिन उकास भई त्यसमा सिँचाइ हुने साथै बज्रमारा सिँचाइ आयोजनाले हरिहरपुरगढीको दसौं हजार बिगाहा सुख्खाग्रस्त जमिनमा सिँचाइ सुविधा पुग्नेछ विश्वास छ ।
मन्त्री श्रेष्ठले वाग्मती प्रदेश सरकारले मरिण र हरिहरपुरगढीलाई धान पकेट क्षेत्र र घ्याङ्लेख गाउँपालिकालाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरि सो क्षेत्रमा कृषि क्रान्ति ल्याउने कुरा पनि बताउनुभयो ।