ललितपुर । गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी कारोबार भएको छ । ललितपुरमा शुक्रबादेखि आयोजित १४औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी आम्दानी भएको हो ।
गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन । यस वर्षको प्रदर्शनीमा दुई दिनमा रु ३८ लाखको कारोबार भएको आयोजक संस्थाले जानकारी दिएको छ ।
फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्ण रुपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिए पनि लक्ष्यभन्दा बढी आम्दानी हुने भएको छ ।
फ्लोरिकल्चर एशोसिएशनले वर्षेनी प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष आगामी सोमबारसम्म चल्ने छ । मेलामा ४४ स्टल रहेका छन् भने गोदावरी पुष्पसँगै, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत मेलामा राखिएको एशोसिएशनको भनाइ छ ।
काठमाडौँ उपत्यकासहित चितवनका पुष्पखेती गर्ने व्यवसायीले मेलामा भाग लिएका छन् भने मेलामा ४०० प्रजातिका फूल रहेको छ । कारोना महामारी र बेमौसमी पानीको कारण यस वर्ष स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ ।
फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ ।
यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला छन् ।
माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा वृद्धि हुने बताइएको छ । एक मिटर सयपत्री फूलको मालाको मूल्य रु ६० देखि ७० सम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा बजारमा १५ प्रतिशत फूलको माग बढी छ ।
विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिक रुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ ।