नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिकाले नक्कली हावाहुरीपीडित खडा गरेर नेपाली कांग्रेसका कार्यकर्तालाई लाखौं पैसा बाँडेको आरोपमा स्थानीयले अध्यक्ष शिव अधिकारीको कार्यकक्ष घेराउ गरेका छन् । अध्यक्ष अधिकारी गत वैशाखको निर्वाचनमा कांग्रेसबाट निर्वाचित हुनुभएको हो ।
वडा नम्बर २ का अध्यक्ष शिवप्रसाद पनेरुसँगको मिलेमतोमा अध्यक्ष अधिकारीले कार्यकर्ता पोस्ने काम गरेको भन्दै मंगलबार दाङसिङमा वडा नम्बर २ का स्थानीयले अध्यक्षको कार्यकक्षमा घेराउ गरेका हुन् । गत जेठ ४ गते हावाहुरीको कारण गाईवस्तुको गोठ क्षति, घरको जस्ता उडाएको, अन्न भण्डारण गर्ने ठाउँमा क्षति पुगेको भन्दै वडा नं २ का अध्यक्ष पनेरुले सिफारिस दिएको र अध्यक्ष अधिकारीले तोकादेश दिएर तीन/चार तला पक्की ढलान घर भएकाहरुलाई रकम बाँडेको स्थानीयको आरोप छ । सयौंको संख्यामा पुगेका स्थानीयले वास्तविक पीडितलाई छायामा राखेर वडाअध्यक्ष र पालिका अध्यक्षको मिलेमतोमा राज्यकोषको चरम दुरुपयोग गरेको समेत आरोप लगाए ।
रकम लिएकाहरुको नाम र ठेगानासमेत किटान गरेर पालिका अध्यक्ष अधिकारीकहाँ पुगेका स्थानीयले जनही २० हजारका दरले रकम बाँडेको बताएका छन् । वास्तविक पीडितलाई बेवास्ता गर्दै कांग्रेस कार्यकर्तालाई पैसा बाँडेर अध्यक्ष अधिकारीले विपद् कोषको रकम चरम दुरुपयोग पनि उनीहरुको भनाइ छ । आक्रोशत स्थानीय बासिन्दाले अध्यक्ष अधिकारीलाई नक्कली हावाहुरीपीडित खडा गरेको, स्वस्थ मानिसहरुलाई समेत फर्जी कागजात बनाएर आर्थिक सहायता बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका छन् । 'तपाईं (अध्यक्ष अधिकारी) ले मैले जो-जो मान्छेलाई पठाएको छु । उनलाई सिफारिस बनाएर पठाउनु भनेर वडाध्यक्षलाई भन्नुभएछ ।
वडाध्यक्षले सफारिस पठाउनुभएर पैसा लिएका छन् । मान्छे किन छान्नुभयो, वास्तविक पीडित पो छान्नुपर्ने होइन र,' अध्यक्षकहाँ पुगेका एक महिलाले भनेकी थिइन्, 'थानेश्वरका तीन दाजुभाइका ढलान गरेको घर छ । उनीहरुले पैसा किन र कसरी पायो ? वास्तविक पीडितलाई दिनुस् न । हामी पैसा माग्न आएको होइन । पीडितलाई दिनुस् भन्न आको हो । जवाफ खोज्न आका हौं ।' त्यस्तै नेवार गाउँका चार घरले पनि पैसा बिनाकारण पैसा पाएको ती महिलाले उल्लेख गरेकी छन् । पहुँचको आधारमा फर्जी कागजात बनाएर रकम लानेहरुले फूर्तीफार्ती लाउने र आफूहरुलाई खिल्ली उडाउने गरेको अध्यक्ष अधिकारीको कार्यकक्ष घेराउ गर्न पुगेकाहरुले गुनासो गरेका छन् । 'थानेश्वरका दाजुभाइ हामीले २० हजार ल्याएर खायो भनेर रिसले गाउँले गाडी चलेर गए भनेर ताली बजाएर बसिरहेका छन् । सरकारको धन ल्याएर खायो रे ! तिनीहरुको मात्रै अधिकार छ ? तिनीहरु तीन जनाले मात्रै भोट दिएर तपाईंलाई अध्यक्ष बनाएको हो र । सबैले मिलेर पालिका अध्यक्ष बनाएका हौं नि !' उनीहरुले वास्तविक पीडितको तथ्यांक संकलन गरेर रकम दिँदा आफूहरुको कुनै आपत्ति नहुनेसमेत अध्यक्ष अधिकारीसमक्ष बताएका थिए ।
अध्यक्ष अधिकारीले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभएको छ,'तपाईंहरुले जानकारी गराउनुभो । त्यसका लागि धन्यवाद । पीडित हो भने सहयोग हुन्छ । त्यही हो ।'
तारकेश्वर तारकेश्वर गाउँपालिकाले अध्ययन अवलोकन भ्रमणको नाममा केही दिनअघि जम्बो टोली घुम्न गएर पाँच लाख रुपैयाँ खर्च गरेको आरोप लगाइएको छ । गाउँपालिका अध्यक्ष अधिकारी नेतृत्वमा गत बिहीबार ३३ जनाको टोली अध्ययन अवलोकन भ्रमणको नाममा पालिका र छ वटै वडामा चार दिन जनप्रतिनिधिविहीन बनाएर हिँडेको स्थानीयले गुनासो गरेका थिए । टोली धादिङ, चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, हुँदै मुस्ताङ पुगेको थियो ।