नुवाकोट । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ध्यान विस्तारै पञ्चकन्या र यो क्षेत्रतिर तानिन थालेको बताउनुभएको छ ।
पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन लाकुरीभन्ज्याङमा शनिबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले पञ्चकन्याबाट राजनीतिमा प्रभाव राख्ने नेताहरु रहेकोले आफ्नो ध्यान तानिन थालेको बताउनुभएको हो । उहाँले पञ्चकन्या गाउँपालिकामा हुने क्रियाकलापले राष्ट्रिय राजनीति र सिंहदरबारमा समेत असर गर्ने आफूले महसुस गरेको बताउनुभयो ।
'हेर्दै जाँदा यत्ति धेरै राष्ट्रिय नेता भएको ठाउँ रहेछ यो पञ्चकन्या । अहिले हाम्रा अर्थमन्त्री पनि यही पालिकाको । हितबहादुर तामाङ पनि यही पालिकाको । राधिका तामाङ पनि यसै निर्वाचन क्षेत्रको । अरु नेताहरु । रामशरण महत दाजुभाइ भइहाल्नुभयो । थुप्रै नेताहरुको ठाउँ रहेछन्,' उहाँले थप्नुभयो, 'त्यस अर्थमा पनि पञ्चकन्या गाउँपालिकामा हुने क्रियाकलापको प्रत्यक्ष असरचाहिँ राष्ट्रिय राजनीतिमा, नेतृत्वको दिमागमा पर्ने भएको ले पनि मेरो ध्यान पनि अब विस्तारै पञ्चकन्यातिर तानिन थालिँदैछ । यो क्षेत्रतिर तानिँदै जान थालेको छ । यहाँ ठीक गर्यो भने सिंहदरबार ठीक होलाजस्तो । तपाईंहरु सबै जना खुसी हुनुभयो भने सिंहदरबारमा पनि काम गर्न सजिलो होला जस्तो मैले महसुस गरेको छु ।' प्रधानमन्त्री प्रचण्डले पञ्चकन्यावासीको ठूलो भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । भन्नुभयो- 'तपाईंहरुको जिम्मेवारी, तपाईंहरुको भूमिका ठूलो छ भन्ने ठान्छु । म तपाईंहरुको साथमै हुन्छु । तपाईंहरुसामु हुन्छु । यो विश्वास दिलाउन चाहन्छु ।'
नुवाकोटले राजनीतिक परिवर्तनमा, संविधान निर्माणमा र सकारात्मक ढंगले देशको विकासमा खेलेको भूमिकाका कारण पटक-पटक आउने गरेको उहाँको प्रस्ट पार्नुभयो । 'नुवाकोट नजिक हुनालेमात्रै होइन । नुवाकोटले राजनीतिक परिवर्तनमा, संविधान निर्माणमा र सकारात्मक ढंगले देशको विकासमा खेलेको भूमिकाको कारणले पनि म पटक-पटक नुवाकोट आउने गरेको छु । मेरो ठाउँबाट हुन सक्नेजति सहयोग नुवाकोट जिल्लालाई र यहाँको जनतालाई दिने गरिएको छ । म यस कारणले पनि आउने गरेको छु,' उहाँले थप्नुभयो, 'मेरो पार्टीको हिजो आन्दोलनमा सहकार्य सँगै गरेको एउटा सहयोद्धा पोष्टबहादुर बोगटी पनि यो जिल्लाकै । पोस्टबहादुर बोगटी देशकै होनाहार, त्यागी र एउटा पारदर्शी नेता । एउटा उत्तराधिकारको रुपमा मैले लिने गर्थे । त्यो कारणले पनि मैले नुवाकोटलाई विशेष ध्यान दिने गरेको छु ।'
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप पनि लगाउनुभयो । उहाँले भारत भ्रमणबाट राष्ट्रमा विकासको ढोका खोल्ने आधार बनेको र त्यसले सिंगो राष्ट्र गौरवान्वित भइरहेका बेला केही व्यक्तिलाई राम्रो नरुच्ने रोग लागेको टिप्पणी गर्नुभयो ।