काठमाडौं । लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय प्रेम स्याङ्तानले आफ्नो मिर्गौला प्रत्यारोपणको तयारी रहेकोले आर्थिक सहयोगका लागि अपिल गर्नुभएको छ ।
राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा उपचाररत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ केराबारी निवासी पत्रकार स्याङ्तानले एउटा मिर्गौला ट्रान्सप्लान्ट गर्ने योजना रहेको जनाउनुहुँदै सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गर्नुभएको हो ।
'यहाँहरुबाट सकेको सहयोगको अपेक्षा राखेको छु । एउटा किड्नी ट्रान्सप्लान्ट गर्ने योजनामा छु । यहाँहरु सम्पूर्णमा आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछु,' उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । स्याङ्तान नेपाल पत्रकार महासंघ कतार शाखाका पूर्वसहसचिव, काठमाडौं शाखाका सदस्य तथा राजधानी राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्थ्यो । स्याङ्तानको दुवै मिर्गौला फेल भएकोले डाइलासिसमार्फत जीवन चलाइरहनुभएको छ ।
चिकित्सकले उहाँमा मुटु, मधुमेह लगायतको रोग भएको पनि जनाएको छ । अब डाइलासिस र मिर्गौला प्रत्यारोपण नै विकल्प भएको चिकित्सकले बताएका छन् । स्याङ्तानको परिवारको आर्थिक अवस्था निकै नाजुक भएको हुँदा उपचारमा सहयोगका लागि आह्वान भएपश्चात् केही रकम जम्मा हुन थालेको पारिवारिक स्रोतले जनाएको छ । उहाँका साथमा पाँच वर्ष, ९ महिनाको छोरीहरू र श्रीमती हुनुहुन्छ ।
परिवारको मुख्य व्यक्ति नै अहिले रोगले ग्रसित भएपछि दैनिक जीवनमा पनि समस्या भइरहेको उहाँको गुनासो छ ।
उहाँ धुलिखेल हस्पिटल, भक्तपुर शहीद धर्मभक्त हस्पिटल र केएमसी हस्पिटल हुँदै हाल राष्ट्रिय मिर्गौला उपचार केन्द्र गौशाला शाखा मार्फत हप्ताको दुई चोटी डायलासिस गराउँदै आउनुभएको छ ।
सहयोग गर्न चाहने व्यक्तिहरूले बैंक नम्बर अथवा भेटेरै पनि सहयोग गर्न सक्नुहुने जनाइएको छ ।
Account Name - PREM SHYANGTAN Account Number- 5469427480524001 Bank - NIC ASIA Thapathali सम्पर्क नम्बर - 9847389047