दाङ । कांग्रेस नेता जगदीशश्वरनरसिंह केसीले आफ्नो पार्टीभित्र तीन तहको निर्वाचनको टिकट वितरण र समानुपातिक आरक्षण सिट वितरणमा आर्थिक चलखेल वा नातावाद हाबी भएको आरोप लगाउनुभएको छ ।
आइतबार दाङमा लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा नेता केसीले यस्तो आरोप लगाउनुभएको हो । साथै उहाँले पार्टी सिद्धान्त र विचारको मार्गदर्शनअनुसार भन्दा बाहिर चल्न थालेको भन्दै त्यो परिस्थितिलाई सच्याई नयाँ रूपान्तरणको बाटो खोज्न आफूहरूले अभियान सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा बताउनुभयो ।
केसीले पार्टीभित्र सीमित व्यक्तिको मनोमानी चल्दै आइरहेको आरोप लगाउँदै अब नेपाली कांग्रेस एकढिक्का बनाएर लैजाने प्रयासमा रूपान्तरण अभियान केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी अहिले सीमित व्यक्तिको हातमा छ । जसले पार्टीलाई लथालिङ्ग अवस्थामा पुर्याएको छ ।’
पार्टीमा नातावाद मात्रै नभई अहिले धन्यवादसमेत हाबी हुँदै गएको चर्चा गर्दै केसीले सच्चा कार्यकर्ताहरू पार्टीको हरेक अवसरबाट बञ्चित हुनुपर्ने स्थिति सिर्जना भएको बताउनुभयो । नेपाली कांग्रेस रूपान्तरण अभियानले पार्टीभित्र देखिएको विकृतिबारे कार्यकर्तालाई सचेत तुल्याएको छ । लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा प्रदेशस्तरीय अगुवा नेता तथा कार्यकर्ता सहभागी रहेको कार्यक्रममा रूपान्तरण अभियानका नेताहरूले पार्टी लोकतान्त्रिक विधि,पद्धति र प्रक्रियामा भन्दा पनि व्यक्तिको विचार र शैलीमा परिचालित हुँदै आइरहेको टिप्पणी गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा कांग्रेस नेता तथा रूपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले पार्टी लोकतान्त्रिक विधि, विधान र मूल्यमान्यतामा आधारित प्रजातान्त्रिक पार्टी भए पनि अहिले व्यक्तिवादी शैलीमा चल्दै आइरहेको टिप्पणी राख्नुभयो ।
कार्यक्रममा युवा नेता रञ्जित कर्णले बीपी जन्माएको कांग्रेसमा बिचौलियाहरू हाबी हुँदा कांग्रेस अहिले कांग्रेस नरहेको बताउनुभयो । नेतृत्वकर्ताहरू पार्टी र कार्यकर्ताहरूको हितमा भन्दा पनि व्यक्ति हितमा रहेकाले अहिले पार्टी संरचना र संगठन सीमित व्यक्तिको हातमा पुगेको उहाँको ठहर छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको अध्यक्षता आयोजित कार्यक्रममा नेका केन्द्रीय सदस्य मधु आचार्य, बिजुला बर्मा, युवराज पाण्डे राना, लक्ष्मी पाण्डेलगायतले रूपान्तरण अभियानको आवश्यकता र औचित्य प्रस्ट्याएका थिए ।