काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनु पर्ने बताउनु भएको छ । उहाँले पार्टीको नेतृत्वले हेलचेक्र्याइँ गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको टिप्पणी गर्नुभयो ।
पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नु पर्ने बताउनु भयो ।‘पार्टीभित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफै समाधन गर्ने हो’, नेता सिंहले भन्नु भयो, ‘बाटो बिराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधि र पद्धतिको रक्षा हुन्छ ।’पार्टीभित्रका भजनमन्डलीकाले नेतृत्वलाई अलमलमा पारिरहेको समेत बताउनुभएको छ ।
नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेसको इतिहास राम्रो छ, भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताउनु भयो । इतिहास राम्रो छ, अझै राम्रो गर्नका लागि सबै नेता कार्यकर्ता लाग्नु पर्ने उहाँको धारणा रहेको छ ।
उहाँले १३ औं महाधिवेशनपछि कांग्रेस इतिहासको कमजोर अवस्थामा आइपुगेको बताउनु भयो । अहिलेकै अवस्था कायम रहे राष्ट्रियसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उहाँको भनाइ छ । विवाद मिलाउन पर्नेमा नेतृत्वले त्यसो गर्न नसकेको उहाँले आरोप लगाउनु भयो । केही व्यक्तिले आफ्नो पक्षमा मत लिनका लागि धाँधली गरेको उहाँले बताउनु भयो । साथै उहाँले सदस्यता वितरणमा केही पुराना कांग्रेसीहरुलाई अन्याय भएको समेत बताउनु भयो ।
'तपाईं हामीले नै हो हाम्रो संस्कृति सम्पदा बचाउने हो । विकास निमार्णका काममा हाम्रा संस्कृतिहरु मस्न हुँदैन । हाम्रो संस्कृतिलाई जोगाउन सबै लाग्नुपर्दछ,' उहाँले भन्नुभयो, 'पार्टीभित्रको बेथिती र विकृति अन्त्यका लागि नयाँ पुस्ता आउनु पर्छ ।'
त्यस्तै नेता सिंहले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्न आफू तयार रहेको बताउनु भयो । पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागि आफू सभापति बन्नु पर्ने उहाँको तर्क थियो । पार्टीको तल्लो तहदेखि नै संघर्ष गर्दै आएकाले सबैको दु:ख र संघर्ष बुझ्ने क्षमता भएको आफू एक्लो नेता भएको उहाँको दाबी थियो । ‘जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडि राखेर जतिसक्दो राम्रो काम गरे पनि जनताले पताउँदैनन्,’ उहाँले भन्नु भयो, ‘लोकतन्त्र जोगाउनको लागि नेतृत्व परिवर्तन आवश्यक छ । विधि र पद्धति जोगाउनका लागि पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’
आफूलाई विगतमा पनि चुनाव लड्छु भन्दा कसैले नपत्याएको तर पछि भोट गणना गर्दा क्षमता देखेको उहाँले स्मरण गर्नु भयो । काठमाडौंका नागरिकले प्रकाशमानले हेर्दै हेर्दैन भन्ने बाहिरी जनताले यो त काठमाडौंको मात्र हो भन्ने गरेको उहाँले गुनासो व्यक्त गर्नु भयो । उहाँले आफू देशका ७७ जिल्लामा नै पुगेको र सबै जनताको दुख बुझेको बताउनु भयो । आफूले देशका सवै क्षेत्रका जनताको सेवा गरिरहेको र गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो । सबै क्षेत्रका जनता र पार्टी कार्यकर्ताको सभापतिको उम्मेदवार आफूमात्र भएको उहाँले बताउनु भयो । पार्टीलाई विधिसम्वत तरिकाले अगाडि बढाउन लागि नेता कार्यकर्ताहरुले आफूलाई साथ दिनु पर्ने उहाँको भनाइ थियो ।
फरक प्रसङ्गमा नेता सिंहले ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको दाबी गर्नुभयो । उहाँले अदालतलगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावनाविपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिरसमेत गर्नु भयो ।