काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) अध्यक्ष केपी ओली मुलुकमा स्थापित गणत्नत्र उल्ट्याउने कोसिसमा रहेको बताउनुभएको छ ।
माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाद्वारा सोमबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले हालै पूर्वराजा ज्ञानेन्द्र निकटका मान्छेलाई भेटेका ओलीले गणतन्त्र उल्ट्याउने वचन दिएका खुलासा गर्नुभएको हो ।
'ज्ञानेन्द्रका केही मान्छेसँग ओलीले भेटेको सूचना मैले पाएँ । मलाई जिन्दगीभरी यो गणतन्त्र मन परेको होइन । बाध्यताले स्वीकार गरेको हो । त्यसकारण मौका आयो भने उल्ट्याउने हो भनेछन्,' प्रचण्डले उल्लेख गर्नुभयो । ओलीले आफूसँग सँधै संघीय लोकतान्त्रिक गणतन्त्र पनि मन पर्या छैन । मलाई यो समावेशी समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन पर्या छैन भन्ने गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।
मुलुकमा प्राप्त उपलब्धि रक्षा गर्ने कि उल्ट्याएर पुरानै ठाउँमा फर्कने भन्ने मूल दुइटा प्रवृत्ति रहेको भन्दै प्रचण्डले त्यसो हुन नदिइने बताउनुभयो । 'अहिले पनि दुइटा विचार, दुइटा वर्ग दुइटा प्रवृत्ति । एउटा जनतालाई अधिकार सम्पन्न गर्नुपर्छ । पाएको अधिकार रक्षा हुनुपर्यो । थप अधिकारका लागि लड्दै जानुपर्यो भन्ने विचार । र, त्यसले उत्पीडित वर्ग समुदाय सबैसँग एकाकार भएर । निरन्तर आन्दोलन गरिराख्नु पर्छ । नत्र भने उल्टिने खतरा छ भन्ठान्छन् । एउटाचाहिँ प्राप्त भएका अधिकार उल्ट्याउनुपर्छ र पुरानै ठाउँमा जानुपर्छ,' दाहालले भन्नुभयो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि सुरुमा ठूलो दल बनेको तर बीचमा टुटफुटले बीचमा कमजोर जस्तो देखिए पनि अहिले फेरि जनउभार आउने संकेत देखिएको प्रचण्डले दाबी गर्नुभयो । भर्खरै निर्वाचन क्षेत्र चितवन र सर्लाहीमा गएकोमा जनताले असली साथी माओवादी नै भएको महसुस गरेको भन्दै प्रचण्डले केही महिना मेहनत गरेमा माओवादी फेरि उर्लेर आउने बताउनुभयो । संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षतासहितको एजेन्डा माओवादीका कारण स्थापित भएको भन्दै दाहालले समग्र मुलुकको नेतृत्व पनि माओवादीले गरिरहेको बताउनुभयो । तत्कालीन नेकपा हुँदा पनि आफ्नोतर्फ ७५ प्रतिशत र ओली २५ प्रतिशतमा झरेको र उनलाई कारबाही गरिएको समेत प्रचण्डको भनाइ छ ।