ग्लास्गो, स्कटल्यान्ड । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न आग्रह गर्नु भएको छ ।
उहाले जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गर्नु भएको हो ।
जलवायु परिवर्तन सम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी विश्व नेताहरुको शिखर बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो ।
उहाले हिमाली क्षेत्रमा तीव्र गतिमा उष्णता बढेर समग्र दक्षिण एशियामै खाद्य, जल, ऊर्जा र मानवीय सुरक्षामा गम्भीर चुनौती खडा गरेको पनि जानकारी गराउनु भयो ।
सम्मेलनमा नेपालको तर्फबाट आफ्नो भनाई राख्नुहुँर्दै प्रधानमन्त्री देउवाले हिमतालहरु पग्लेर समुद्री सतह बढ्न जाँदा तटीय र टापू राष्ट्रहरुको अस्तित्व सङ्कटमा पर्न थालेको पनि विश्वका नेताहरुलाई स्मरण गराउनु भयो ।
‘हिमाली भेगका बासिन्दाका लागि विश्वव्यापी तापमान १ दशमलव ५ डिग्री सेल्सियसभन्दा मुनि रहन जरुरी छ । यो हाम्रो अस्तित्वको सवाल हो’, उहाँले भन्नुभयो, ‘हिमालयमा देखापरेका जलवायुजन्य सङ्कटबारे सचेतना जगाउन नेपाल सरकारले ‘सगरमाथा संवाद’आयोजना गर्नेछ, जुन संवादको नामकरण माउण्ट एभरेस्टबाट गरिएको छ ।’
वैश्विक औसतभन्दा तापमान उच्च हुँदा हिमाली क्षेत्रमा हिमतालहरु सुकेर जान थालेको बताउनु भयो ।
हिमपात घट्दै गएको र हिमभूमि पग्लिँदै जाँदा अथाह आर्थिक, पर्यावरणीय र मानवीय क्षति पारिरहेको चित्र प्रधानमन्त्री देउवाले प्रस्तुत गर्नुभयो ।
‘नेपालको कुल जनसङ्ख्याको ८० प्रतिशत प्राकृतिक र जलवायुजन्य प्रकोपहरुको जोखिममा भएको भन्दै उहाँले गएको ४० वर्षको समयावधिमा प्राकृतिक विपद्हरुबाट नेपालमा मात्रै ६ अर्ब अमेरिकी डलर हाराहारीमा भौतिक र आर्थिक क्षति भएको पनि सम्मेलनमा जानकारी गराउनु भयो ।
अल्पविकसित राष्ट्र नेपालले विकास गतिविधि र वातावरण संरक्षणका कदमहरुबीच सन्तुलन बनाइराख्न इमान्दार प्रयास गर्दैआएको प्रधानमन्त्री देउवाले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँर्दै उहाँले भन्नुभयो ‘पर्यावरणीय असर अनुकूलन, न्यूनीकरण र विपद् व्यवस्थापनका प्रयासहरु एकसाथ कार्यान्वयनमा लाने रूपान्तरणकारी कार्यपद्धतिलाई सघाउने कार्यमा अन्तर्राष्ट्रिय जलवायु वित्तको परिचालन सुनिश्चित गर्ने नियमनकारी संयन्त्र हामीसँग छ’ ।
निजी क्षेत्र, आदिवासी भूमिपुत्र, प्रतिफलबाट वञ्चित समुदाय, महिला, युवालगायत सरोकार राख्ने सबै पक्षलाई वातावरण संरक्षणका हरेक क्रियाकलापमा सहभागी गराउँदै आएको देउवाले धारणा छ ।
जलवायु परिवर्तनसँग तादात्म्यता राख्ने र त्यसका असरहरुलाई न्यून गर्ने दुवै थरी काममा प्रकृतिको महत्व पहिचान गर्दै हामीले प्रकृति संरक्षण र जलवायु परिवर्तनलाई एकीकृतरूपमा अघि बढाउन एक समर्पित प्रतिष्ठान खडा गर्ने निर्णय लिएको पनि बताउनु भएको छ ।
वातावरणीय सङ्कटहरु बढ्न गई बेहोर्न परेका नोक्सानी तथा क्षति मुख्य चिन्ताको विषय बन्न गएको भन्दै उहाँले यो विषयलाई महासन्धिको धारा ४ उपधारा ८ अन्तर्गत समेटिनु पर्ने खाँचो उनले औँल्याउनु भयो । साथै उहाँले नोक्सानी र क्षतिलाई सम्बोधन गर्न बाँकी एक मात्र अजेण्डाका रूपमा स्वीकार गर्न र यसमा लगानी थप्ने संरचनालाई सघाउन पक्ष राष्ट्रहरुसँग आग्रह पनि गर्नुभयो ।
अत्यन्त नाजुक राष्ट्रहरुका लागि वित्तीय, प्राविधिकीय र क्षमता अभिवृद्धिको पक्षलाई सबल बनाएर पर्याप्त अनुकूलन कार्यक्रम सञ्चालनमा सहयोगको सुनिश्चितता कोप–२६ सम्मेलनले गर्नै पर्ने तथ्यमाथि उहाँले जोड दिनुभयो ।
‘जलवायु वित्तमाथि शीघ्र, सिधा र सहज पहुँचद्वारा हामी हाम्रा लक्ष्य हासिल गर्न सक्छौँ’, देउवाले भन्नुभयो, ’सन् २०२५ अगावै जलवायु वित्तबारेको एक नवीन सामूहिक, परिमाणात्मक र महात्वाकाङ्क्षी लक्ष्यका लागि एक स्पष्ट मार्गचित्रमा सहमत हुन पक्ष राष्ट्रहरुसँग आग्रह गर्दछु ।’
जलवायु परिवर्तनसम्बन्धी यस्तो महत्वपूर्ण सम्मेलन आयोजना गरेकामा संयुक्त अधिराज्यलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले नेपाल पेरिस सम्झौता कार्यान्वयनप्रति पूर्णतः प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाली अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकाक्षी योजनासहितको राष्ट्रिय जलवायु योजना (एनडिसी) नेपालले पेस गरेको जानकारी पनि प्रधानमन्त्री देउवाको थियो ।
‘सन् २०४५ भित्र विशुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य नेपालले राखेको छ’, उहाँले भन्नुभयो, सन् २०३० भित्र हाम्रा कूल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्नेछौँ । देशको ४५ प्रतिशत भूखण्ड वन क्षेत्रले ढाक्नेछौँ।’