काठमाडौं । तामाङ समाज यूएईले संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा सञ्चालित पञ्चकन्या आधारभूत विद्यालय खाम्लिङलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
तामाङ समाज यूएईद्वारा बिहीबार काठमाडौं आयोजित सपोर्ट माई स्कुल परियोजनाअन्तर्गत शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रममार्फत अध्यक्ष घिसिङले पञ्चकन्या आविलाई सामग्री हस्तान्तरण गरेको हो ।
कोभिड महामारीको कारण दुई वर्षदेखि हस्तान्तरण हुन नसकेको सपोर्ट परियोजना पहिलो पटक ताम्सालिङ बाहिरको जिल्ला संखुवासभाको विद्यालयलाई चयन गरेको अध्यक्ष घिसिङले बताउनुभयो ।संस्थाले स्कुल छनौट गर्ने क्रममा ४ वटा विद्यालयको दरखास्त परेकोमध्ये पञ्चकन्यालाई छनौट गरेको पनि उहाँले प्रस्ट पार्नुभयो ।
अध्यक्ष घिसिङले सन् २०१२ देखि विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरी तामाङ विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा अघि बढाउन परियोजना सञ्चालन गरेको पनि बताउनुभयो । सपोर्ट माई स्कुल परियोजना स्थापना गर्नका लागि यूएई तामाङ समाजले सुरुआती चरणमा निकै मिहिनेत गरेको उहाँले स्मरण गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै तामाङ समाज यूएईका अध्यक्ष सनिल घिसिङले तामाङ समाज यूएई छिट्टै एक हुने दाबी गर्नुभयो । उहाँले तामाङ समाज मिल्नको लागि केही प्रयास भए पनि व्यक्तिगत मनमुटाव र मत भिन्नताको कारण अहिलेसम्म सफल नभएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, 'अहिलेसम्म नमिल्नुको कारणचाहिँ म अध्यक्ष भएर रहिरहनु पनि हो कि जस्तो लाग्छ । त्यसैले अब महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गर्दैछु र त्यसपछि मिल्छ होला भन्ने विश्वास लिएको छु ।'
कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, सहअध्यक्ष कुमारसिंह घिसिङ, महासचिव काजीमान थिङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का कार्यकारी महासचिव टासी लामा, तामाङ समाज यूएईका संस्थापक महासचिव लेक योन्जन र पञ्चकन्या आविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम तामाङले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
समाजका अध्यक्ष सनिल घिसिङको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि घेदुङका सहअध्यक्ष कुमार घिसिङ हुनुहुन्थ्यो भने सञ्चालन तामाङ समाज यूएई सम्पर्क समितिका सांस्कृतिक विभाग प्रमुख सञ्जिता तामाङले गर्नुभएको थियो ।