सिन्धुली । गत आर्थिक वर्ष २०७९–०८० मा सिन्धुलीको मरिण गाउँपालिकाले ९७.५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । चुनावी वर्ष भए पनि ९७.५ प्रतिशत बजेट खर्च गराउन सकेको अध्यक्ष विमर्श मोक्तान प्रख्यातले जानकारी गराउनुभयो । ग्लोबल मिडियासँग कुराकानी गर्दै उहाँले भन्नुभयो ‘चुनावी वर्ष भए पनि काममा कुनै पनि समस्या भएन, कृषि, सिँचाइ, खानेपानी, स्वास्थ्य र शिक्षाको क्षेत्रमा राम्रो काम गर्न सफल भएका छौं, सम्भवत: मरिण जिल्ला र प्रदेशकै उत्कृष्ट पालिका बन्न सक्छ ।’
मरिणले आव ०७९—०८० मा ६३ करोड बजेट विनियोजन गरेको थियो । अघिल्लो कार्यकालमा ६५ देखि ७० प्रतिशतमात्रै बजेट खर्च गर्न सके पनि पछिल्लो आवमा त्यसलाई बढाउन सकिएको अध्यक्ष मोक्तानले बताउनुभयो ।
यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले कूल विनियोजित बजेटमा ८४ प्रतिशत र प्राप्ति बजेटको ९७.५ प्रतिशत भनिए पनि पछि प्राप्त बजेटको जोड्ने हो भने ९८ प्रतिशत खर्च गएको प्रस्ट्याउनुभयो । कुराकानीको क्रममा उहाँले भन्नुभयो ‘संघीय सरकारबाट हाम्रो मरिणलाई माग गरेअनुसारको बजेट समयमा प्राप्त भएन । पछि केही बजेट थपिएको हुँदा खर्च झण्डै ९८ प्रतिशत देखिन्छ, नवनिर्वाचित मरिण सरकारको आधार वर्षको रुपमा रहे पनि जनताको आवश्यकताअनुसार काम गर्न सफल भएको छ ।’
बेरुजु अघिल्लो आर्थिक वर्षमा भन्दा कम देखिएको पालिकाको दाबी रहेको छ । मरिणमा ४६ लाख बेरुजु देखिएको छ । एकल पुरुषलाई भत्ता वितरण, सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा, इन्डक्सन चुलो वितरण, अविवाहित स्नातक उत्तीर्ण किशोरीहरूलाई एक लाख रुपैयाँ रकम वितरण, कक्षा ११ पछि माथिल्लो तह अध्ययन गर्नको लागि छात्रालाई साइकल प्रदान जस्ता लोकप्रिय कार्यक्रम सम्पन्न गरिसकेको छ ।
नवनिर्वाचित जनप्रतिनिधि, सबै कर्मचारी काम गर्ने तरिका मिलेको हुँदा मरिण बजेट खर्च गर्न सफल भएको प्रमुख प्रशासकीय अधिृकत दर्जीको दाबी छ । प्राप्त बजेटलाई जति पनि विषयमा खर्च गरिएको ती सबै कर्मचारीको तर्फबाट हेर्दा उपलब्धिमूलक भएको उहाँको भनाइ छ ।
भर्खरै सुरु भएको आर्थिक वर्ष ०८०—८१ को लागि भने मरिणले ५६ करोड बजेट विनियोजन गरेको छ । यो आर्थिक वर्षमा पूर्वधारलाई प्रमुख प्राथमिकतामा राखिएको अध्यक्ष मोक्तानले बताउनुभयो ।
हेर्नुहोस् मरिणमा कहाँ-कहाँ कति बजेट खर्च ?