जुम्ला,रासस । जुम्लाका नागरिकले नुन वितरण सहज नभएको भन्दै गत असार ३१ गते डिपो कार्यालयमा तोडफोड गरेपछि साल्ट ट्रेडिङ कार्यालय जुम्लाले यहाँका आठवटै स्थानीय तहको वडास्तरबाटै नुन वितरण गर्ने भएको छ ।
स्थानीय प्रशासनले नुनको व्यवस्थापन प्रभावकारी बनाउन वडाबाट वितरण हुने गरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो । डिपो कार्यालयमा तोडफोड भएको घटनाका विषयमा नेपाल साल्ट ट्रेडिङ कार्यालयलाई सत्यतथ्य छानबिन गर्न अनुरोधसमेत गरिएको छ ।
थप नुनको प्रभावकारी व्यवस्थापनका लागि वडामै वितरण गर्न निर्देशन दिएको प्रजिअ घिमिरेको भनाइ छ । यो भन्दा पहिला पनि वडामा पठाउने निर्णयलाई कार्यान्वयन गरी वडावाटै वितरण गर्दा उपझोक्ता डिपो कार्यालयमै आउनु नपर्ने र आवश्यकतानुसार नुन वडामै पठाउने तयारी थालिएको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले बताउनुभयो ।
स्थानीय तहको वडापालिकाको समन्वयमा एक वडालाई बढीमा १० क्विन्टल नुन वडामै केही सातापछि पठाइने भएको छ । कार्यालय प्रमुख मल्लले भन्नुभयो, “अहिले डिपो कार्यालयमा आठ सय २१ क्विन्टल र अरु दुई बिक्री केन्द्रमा क्रमशः पाँच सय ५० र तीन सय ५० किलो नुन मौज्दात रहेको छ ।” गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले नुन अभाव नहुने कार्यालय प्रमुख मल्लको भनाइ छ ।
जिल्लाको सिञ्जा क्षेत्रमा पर्ने हिमा, कनकासुन्दरी र सिञ्जा गाउँपालिकाको नराकोटबाटै नुन वितरण हुने गरेको छ । हाल जिल्लाको सदरमुकाम खलङ्गामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालयबाट चन्दननाथ नगरपालिका, पातारासी, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका स्थानीयवासीलाई नुन वितरण गरिँदै आएको साल्ट ट्रेडिङ कार्यालय जुम्लाले जनाएको छ ।
पातारासी गाउँपालिकामा नुनको डिपो आवश्यकता रहेको भन्दै विभिन्न चरणमा माग राख्दै आए पनि कार्यान्वयन हुन नसकेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो । डिपो विस्तारका लागि पालिकाले पटक–पटक पहल गरे पनि सुनुवाइ हुनसकेको छैन । जिल्लास्तरबाट माथिल्लो निकायसम्म सो विषयबारे पुगे पनि कार्यान्वयन हुन नसकेको पातारासी गाउँपालिकाले जनाएको छ ।
अहिले पनि जुम्ला सदरमुकाममा रहेको डिपो, नराकोट र गोरुचौर डिपोमा नुन मौज्दात रहेको कार्यालयले जनाएको छ । नुन नपाएपछि स्थानीयवासीले डिपो कार्यालयमा ढुङ्गामुढा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जुम्लामा नुनको कमी हुन नदिन सोमबारमात्रै तीन सय २० क्विन्टल नुन ढुवानी गरिएको प्रदेश कार्यालय नेपालगन्जका प्रमुख महेश चौधरीले जानकारी दिनुभयो ।