काठमाडौं । एक अधिवक्ताले मगर र तामाङ समुदायलाई नै अपमानित गर्ने नियतले दिएको अभिव्यक्ति काण्ड प्रतिनिधिसभामा पुगेको छ ।
नेपाली कांग्रेसकी सचेत सुशीला थिङ र नेकपा एमालेकी सांसद ईश्वरी घर्तीमगरले आफ्नो समुदायमाथि अधिवक्ता भगवती पाण्डेले 'शितल' ले दिएको अभिव्यक्तिबारे बुधबार प्रतिनिधिसभा बैठकमा उठाउनु भएको हो । अधिवक्ता पाण्डेले एक टेलिभिजन कार्यक्रममा हाड नाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजु बहिनीबीचमै विवाह हुँदा विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधामा संलग्न हुने भन्ने अभिव्यक्ति दिएकी थिइन् ।
कांग्रेस सचेतक सुशीला थिङले तामाङ समुदायको संस्कृतिमाथि धावा बोल्ने अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गर्नुभएको हो । उहाँले कार्यक्रम प्रस्तोतालाई समेत कारबाही गर्नु पर्ने माग राख्नुभयो । 'अधिवक्ता भगवती पाण्डेले दिएको अन्तर्वार्तामा तामाङ, मगरलगायत अन्य जाति समुदायको आत्मसम्मानमा चोट पर्ने गरी जुन अभिव्यक्ति दिनुभएको छ, त्यसको घोर आपत्तिजनक भएकाले घोर भर्त्सना गर्न चाहन्छु,' सचेतक थिङले भन्नुभयो, 'हाड नाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजु बहिनीबीचमै विवाह हुँदा विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधामा संलग्न हुने भन्ने अभिव्यक्तिले मेरो मनमा सुन काण्डभन्दा बढी पोलेको छ ।”
उहाँले यस्तो अभिव्यक्तिले आफू कति आपराधिक समुदायको माननीय भएछु भन्ने चिन्ता लागेको उल्लेख गर्नुभयो । उहाँले गलत उदाहरण दिएर जाति समुदायको संस्कार संस्कृतिमाथि धावा बोल्ने जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ र मुलुकी अपराध संहिता २०७४ मर्मविपरीत भएकाले हदै सम्मको कारबाही गर्न माग गर्नुभयो ।
यस्तै सांसद ईश्वर घर्तीले मगर र तामाङ समुदायमा गम्भीर आघात पुग्ने अभिव्यक्ति दिने पाण्डेको अधिवक्ता लाइसेन्स खारेज गर्दै कानुनी कारबाही अगाडि बढाउन सम्बन्धित निकायसँग माग गर्नुभयो । 'अधिवक्ता शितल पाण्डेले मगर र तामाङ समुदायमा दाजुभाइ तथा दिदीबहिनीहरुमा बिहे हुन्छ भनेर मगर र तामाङ समुदायमा गम्भीर आघात पुग्ने अभिव्यक्ति दिनुभएको छ । यसले समुदायमा हेर्ने दृष्टिकोण एकदमै नराम्रो परेको छ,' उहाँले भन्नुभयो, 'तसर्थ पाण्डेको अधिवक्ताको लाइसेन्स खारेज गरेर उहाँलाई कानुनी कारबाही अगाडि बढाउनसमेत म जोडदार माग गर्दछु ।'
आफूलाई कानुन व्यवसायी भन्ने पाण्डेले जातीय समुदायको अस्मितामाथि चोट पुग्ने गरी बोलेको विषयको देशविदेशमा आलोचना भइरहेको छ । यस विषयमा पाण्डेले सार्वजनिक माफी माग्नु पर्ने र कानुनी कारबाहीको भागीदारसमेत बनाउनुपर्ने आवाज जोडले उठेको छ ।
ती समुदायको विवाह संस्कारबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ताविरुद्ध नेपाल तामाङ घेदुङले प्रहरीमा जाहेरीसमेत दिइसकेको छ । जातीय भेद्भाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८, मुलुकी अपराध संहिता २०७४ विपरीत कसुर गरेको भन्दै गुल्मीकी अधिवक्ता पाण्डेविरुद्ध घेदुङका कार्यवहाक अध्यक्ष कुमारसिंह घिसिङले मंगलबार काठमाडौं जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्नुभएको हो । तर, प्रहरीले अहिलेसम्म पक्राउ गरिसकेको छैन ।