काठमाडौं । विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै तामाङ र मगर समुदायले प्रहरी परिसर काठमाडौं घेराउ गरेका छन् ।
पक्राउ पुर्जी जारी भएर पनि प्रहरी समाउन आनाकानी गरेपछि बुधबार दिउँसो १ बजेदेखि प्रहरी परिसर टेकुमा चर्को नाराबाजीसहित घेराउ गरेका हुन् । प्रदर्शनका लागि नेपाल तामाङ घेदुङ सङ्घीय कार्यसमिति र नेपाल मगर संघ केन्द्रीय कार्यालयले समन्वय गरेका छन् ।
प्रदर्शनकारीले 'भगवती पाण्डेलाई कारबाही गर, अधिवक्ता लाइसेन्स खारेज गर', 'प्रथाजनित कानुनको संरक्षण गर', ' विभेदकारी कानुन खारेज गर', 'सांस्कृतिक अधिकार सुनिश्चित गर', 'जातीय हिंसा बन्द गर', 'भगवती पाण्डेलाई कारबाही गर' लगायत नाराबाजी गरेका छन् ।
आन्दोलनकारीको दबाबपछि प्रहरीहरुले अभियुक्त पाण्डे पक्राउ परेको प्रहरीले जानकारी दिएका छन् । त्यसपछि मगर र तामाङ प्रतिनिधिस्वरुप घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङ र मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर पुष्टि गर्न प्रहरी कार्यालय जानु भएको छ । उहाँहरुले पाण्डे पक्राउ गरेको जानकारी पाएको जनाउनुभएको छ ।
अधिवक्ता पाण्डेले साउन ९ गते एक टेलिभिजन कार्यक्रममा आपराधिक घट्ना बढ्नुको कारण के हो भन्ने प्रश्नमा हाडनाता विवाह भएको भन्दै नेपालको मुस्लिम, मगर र तामाङ समुदायमा दाजुभाइ बिच विवाह हुँर्दै आइरहेको र ति व्यक्तिबाट जन्मिने बच्चा अपराधमा संलग्न हुने जस्ता गलत अभिव्यक्ति दिएकाले विवादमा मुछिएकी थिइन् । उनीविरुद्ध तामाङ र घेदुङ समुदायले प्रहरीमा जाहेर दिएका थिए ।