काठमाडौं । अबिरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरोपछि सडक अवरुद्ध भएका छन् । सडक अवरोध कारण यात्रुहरु बीचमै अलपत्र परेका छन् । कतिपय जिल्लामा पहिरोले मानिसहरु बेपत्ता भएका सूचना प्राप्त भएको छ ।
१
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गमा एकतर्फी सडक सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।
२
घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । वर्षात्का कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुनपुगेको हो ।
सडक सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको छ ।
३
मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौँसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन् । पहिराका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
गए राति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौँडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडाँै सडकखण्डमा पहिराका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । । वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगएको तथा रातिमा पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
४
बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो ।
सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले वर्षायामभरि रातिको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
५
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ ।