काठमाडौं । तामाङ-मगर समुदायको नेतृत्वमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा बल प्रयोग र नियन्त्रणमा लिइएकालाई प्रहरी परिसर टेकु काठमाडौंको हिरासतमा निर्मम कुटपिटको घटनाबारे सरकारले छानबिन समिति बनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अधिवक्ता भगवती पाण्डेमाथि कानुनी प्रक्रिया अघि बढेको र पक्राउ गरेर कुटपिट गरिएको घटना छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको मंगलबार प्रतिनिधिसभा बैठकमा जानकारी गराउनुभएको हो ।
कसैले मानवअधिकारको मान्यता र कानुनको उल्लंघन गरेको पाइएमा सरकारले दण्डित गराएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । 'भगवती पाण्डे महिला वकिलले अन्तर्वार्ताका दिँदाखेरी एउटा जातीय समुदायमाथि अपमान हुने खालको अभिव्यक्ति दिएको जुन आयो । त्यसको आधारमा कानुनी कारबाहीमा लैजाने प्रक्रियामा अदालतमा मुद्दा चलिरहेको छ । त्यस सन्दर्भमा जनजातिहरुले पक्रेको थाहा नपाएर प्रहरी अफिसमा धर्ना दिएका थिए । त्यस क्रममा पक्राउ गरिएर पनि कुटपिट गरियो भन्ने छ । यस सम्बन्धमा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ,' उहाँले भन्नुभयो, 'कसैले मानवअधिकारको मान्यता र कानुनको उल्लंघन गर्नेलाई हामी दण्डित गर्नेछौं । यो पनि प्रतिबद्धता यहाँबाटै व्यक्त गर्न चाहन्छु ।'
छानबिन समिति कस्को नेतृत्वमा र कति सदस्यको गठन गरिएको भन्ने बारेमा भने जानकारी गराईएको छैन् ।सांसदहरुले तामाङ-मगर समुदायको धर्नामा प्रहरीले धरपकड र अनावश्यकरुपमा यातना दिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । अधिवक्ता पाण्डेले तामाङ, मगर र मुस्लिम समुदायको विवार संस्कारविरुद्ध विवास्दास्पद अभिव्यक्ति दिएकोले त्यो संविधान र कानुनविपरीत भएको भन्दै तामाङ घेदुङले ९ साउनमा टेकु प्रहरीमा जाहेर दिएको थियो ।
तर, पक्राउ पुर्जी जारी भएर पनि पक्राउ नगरिएपछि साउन १७ मा मगर र तामाङ समुदायको अगुवाइमा प्रहरी परिसरमा धर्ना दिइएको थियो । त्यस क्रममा प्रहरीले अनाहकमा बल प्रयोग गरेको र तीन दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । हिरासतमा लिइएकामध्ये महिलाहरुमाथि दुर्व्यवहार र चरम यातना दिइएको भन्दै पीडितहरुले रिहापछि सार्वजनिक रुपमा बताउँदै आएका छन् ।
टेकु प्रहरीका एसएसपी दानबहादुर कार्कीको निर्देशनमा प्रहरीले महिला प्रदर्शनकारीमाथि अपमानपूर्ण व्यवहार र निर्मम कुटपिट गरेको भन्दै आन्दोलनरत पक्षले उनलाई कारबाही र अभियुक्त पाण्डेलाई उन्मुक्ति दिन नहुने भन्दै दबाब सिर्जना गर्दै आएका छन् । उनीहरुले सोमबार काठमाडौं माइतीघर-बानेश्वरमा विशाल प्रदर्शनसहित देशव्यापी आन्दोलन गरेका थिए ।