सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले उपाध्यक्ष विमला माझीद्धारा जारी प्रेस विज्ञप्ति र पत्रकार सम्मेलनको बारेमा ध्यानाकर्षण भएको जनाएको छ । पालिकाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उपाध्यक्ष माझीले भदौ ३ गते जारी गरिएको विज्ञप्ति र भदौं चार गते भएको पत्रकार सम्मेलनको बारेमा गाउँपालिकाको ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त सम्बन्धमा भदौ ४ गते बसेको गाउँ कार्यपालिका र गाउँ पालिकाका कर्मचारीहरूको संयुक्त बैठकले समेत नेपाली कांग्रेसद्वारा जारी र उपाध्यक्षले गरेको पत्रकार सम्मेलनको व्यक्त भनाइमा सत्यता नरहेको भन्दै खण्डन गरिएको छ ।
पालिकाले बैठकमा एजेन्डागत रुपमा व्यापक छलफल तथा हरेक विषयमा निर्णय गरि, निर्णय प्रकृयालाई कार्यान्वयन गर्ने अभ्यास रहेको उल्लेख गर्दै निर्णय भई कार्यान्वयन गरिएका कुराहरूलाई समेत उपाध्यक्षबाट जानकारी छैन् भन्नु आश्चर्य जनक भएको प्रवक्ता कमल बहादुर आले मगरद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“ भदौं १ गते पालिकाको पदाधिकारीहरू, शाखा प्रमुखहरू र वडा सचिवहरूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो । अन्तरक्रिया कार्यक्रमको उद्देश्य गत आ.व को समीक्षा र चालु आ.व मा अझ व्यवस्थित तरिकाले कार्यसम्पादन गर्ने विषय थियो । वडा सचिव, शाखा प्रमुख, कार्यपालिका सदस्यहरू र प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी समेतले आफ्नो धारणा राखिसके पछि उपाध्यक्षज्युले आफ्नो धारणा राख्नु भएको थियो । गाउँपालिकाको काम कारबाही सम्बन्धी सबै विषयमा मेरो सहभागिता रहनु पर्नेमा सो अनुरूप हुन नसकेको गुनासो गर्नु भएको थियो । आर्थिक स्रेस्ता सम्बन्धी विषयमा प्रमुख प्रशासकीयले उपाध्यक्षलाई स्पष्ट पार्नुभएको थियो । उक्त प्रस्तुतीकरणमा प्रमुख प्रशासकीय अधिकृतबाट अपशब्द प्रयोग भएको थिएन ।” पालिकाद्वारा विज्ञप्तिमा भनिएको छ ।
उपाध्यक्षको माग अनुसार विवरणहरू उपलब्ध भइनै रहेको भन्दै असहमतिका विषयमा छलफलद्धारा समस्याको समाधान गर्ने विकल्प हुँदाहुँदै राजनीतिक रुपमा प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन गरिनु मरिणको समृद्धिको लागि बाधक र गाउँपालिकाको लागि दुखदायी भएको जनाएको छ ।
नेपाली कांग्रेस मरिण गाउँपालिका कार्यसमितिले भदौ ३ गते प्रेस विज्ञप्ति जारी गर्दै भदौ १ गतेको बैठकमा जनप्रतिनिधि र शाखा प्रमुख बीच भएको छलफलको क्रममा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्षमाझीलाई प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले अपशब्द प्रयोग गरि कार्यालयका सबै कागजातहरू हेर्ने अधिकार छैन् भन्दै गैर जिम्मेवारी जवाफ दिएको आरोप लगाएको थियो ।
प्रेस विज्ञप्ति