काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गर्नुभएको छ ।
केही दिनयता धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्नुहुँदै प्रधानमन्त्री दाहालले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावको वातावरण बनाइराख्न आग्रह गर्नुभएको हो । यस्ता गतिविधिले सामाजिक एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको जनाउनुहुँदै प्रधानमन्त्री दाहालले संवाद र सहाकार्यका माध्यामबाट समस्या समाधानका लागि पनि अपिल गर्नुभएको छ । “एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेरमात्र सही अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ ।
त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु”, प्रधानमन्त्रीले भन्नुभएको छ, “धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक सङ्घसंस्था, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा हार्दिक अपिल गर्दछु ।” विमतिलाई संवादको माध्यमबाट समाधानमा पुर्याउन राजनीतिक शक्ति, विभिन्न सामाजिक संस्था, धार्मिक समुदाय र त्यसका अगुवा एवं नागरिक समाजको भूमिका महत्त्वपूर्ण रहनेमा प्रधानमन्त्री दाहालले जोड दिनुभएको छ । धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिनेबारे पनि उहाँले नागरिकलाई स्मरण गराउनुभएको छ ।
सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट हरसम्भव पहल गर्नका लागि धरानवासीलाई पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । “नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ । कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ”, प्रधानमन्त्रीले जारी गरेको अपिलमा भनिएको छ । उहाँले जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिस भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न नसक्ने बताउनुभयो । उहाँले हामीबीचको एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहेको बताउनुभयो ।