काठमाडौं । नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विशाल काल्तान सर्वसम्मत चयन हुनुभएको छ ।
संघको काठमाडौंमा शनिबार भएको १६ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट अगामी कार्यकालका लागि काल्तानको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । अध्यक्षमा काल्तान, वरिष्ठ उपाध्यक्ष रोशन फ्युबा तामाङ, उपाध्यक्ष सुभाष मोक्तान, महासचिव खेम मोक्तान, सचिव निर्मला घिसिङ र कोषाध्यक्षमा योगेश लामा निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा बुद्ध लामा, जितु लोप्चन, रेश्मा बम्जन, आस्मान लोप्चन, जीवन बम्जन, बैरागी मोक्तान, लक्ष्मी स्याङ्तान, अञ्जु थोकर, मिन योञ्जन, बसन्ती लामा, अनिता गोले, सुमिना लो, मिलन थिङ पराङ, प्रदीप लामा र स्मारिका थिङ तामाङ रहनुभएको छ ।
अधिवेशन वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री तीर्थ लामाको प्रमुख आतिथ्यतामा भएको हो । अध्यक्ष विश्व दोङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामालगायत कलाकार र कलाप्रेमी तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो ।
तामाङ कलाकारहरूको एकता, व्यावसायिकता बनाउने र समग्र तामाङ कलाकारहरूको हकहितको निमित्त २०६३ सालमा तामाङ कलाकार संघ स्थापना भएको हो । संघ गठनको मुख्य उद्देश्य तामाङ कलकारलाई व्यवसायीका बनाउने, प्रकाशनमा आएका तामाङ गीतसंगीतको सङ्कलन तथा अभिलेखीकरण गर्ने र तामाङ सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने रहेका छन् ।
तामाङ गीतसङ्गीतको प्रवर्द्धन, संस्कार संस्कृतिको जगेर्नासँगै समुदायमा आपतविपतको बेला समेत सहयोगी संस्थाको रूपमा खडा भएको छ । संस्थामा करिब ४ सयको हराहरीमा सदस्यहरू आबद्ध छन् ।