नुवाकोट । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा टोखा-गुर्जे-छहरे सुरुङको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न वन तथा वातावरण मन्त्रालयले अनुमति प्रदान गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा वन मन्त्रालयले बुधबार मन्त्री प्रकाश ज्वालाको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै डीपीआर र ईआईए कार्य अघि बढाउने अनुमति दिएको हो ।
'शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने टोखा-गुर्जे सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सहमति उपलब्ध गराइदिनको लागि यस मन्त्रालयलाई अनुरोध भई आएकोमा निम्नानुसारका सर्तहरुको अधिनमा रही वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ को दफा ४ को उपदफा १ अनुकूल हुने र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को मर्म र प्रावधान हुनेगरी विस्तृत आयोजना प्रस्ताव र ईआईएको प्रक्रिया अगाडि बढाउन बाधा नहुने गरी सहमति प्रदान गर्ने भनी वन तथा वातावरण मन्त्रालय (सचिवस्तर) मिति २०८०/५/२७ को निर्णयानुसार अनुरोध छ,' वन अधिकृत ज्ञानेन्द्र कायस्थद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
वन मन्त्रालयले आठ वटा सर्तहरु राखी डीपीआर र ईआई प्रक्रिया अगाडि बढाउन सहमति दिएको उल्लेख गर्दै भौतिक मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सुनिलबाबु पन्तले सुरुङको थप अध्ययन कार्य अगाडि बढाउन परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षलाई जानकारी पठाउन अनुरोधसहित बुधबार नै अर्थ मन्त्रालयलाई पत्र काटेको छ ।
उक्त प्रस्तावित सुरुङको चीन सरकारको सहयोगमा पूर्वसम्भाव्यता अध्ययन कार्य सम्पन्न भइसकेको छ । अब भौतिक पूर्वाधार मन्त्रालयले ईआईए गर्ने छ । डीपीआर भने चिनियाँ सरकारको अनुदान वा ऋण सहायता केमा सुरुङ बन्ने भन्ने विषयले निर्धारण गर्नेछ ।
यो करिब ४ किमि सुरुङमार्ग निर्माणका लागि कम्तीमा २० अर्ब लागत अनुमान गरिएको छ । साथै सडकसमेतको लागत अनुमान भने २५ देखि ३० अर्ब रहने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको नुवाकोट-१ बाट निर्वाचित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले ग्लोबल मिडियालाई बताउनुभयो ।
पूर्वमन्त्रीसमेत रहनु भएका सांसद तामाङका अनुसार टोखा-छहरे सुरुङ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका एजेन्डामा प्राथमिकतामा परेकोले त्यस क्रममा थप सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्ड ३० भदौदेखि ४ असोजसम्म राष्ट्रसंघ महासभाका लागि अमेरिका र त्यहाँबाट ५ असोजदेखि चीनको भ्रमणमा जाँदै हुनुहुन्छ ।
के के छन् डीपीआर र ईआईए गर्दा वन मन्त्रालयले तोकिएका सर्तहरु
१. प्रस्तावित आयोजना निर्माण र संचालन गर्दा दुर्लभ र लोपोन्मुख वन्यजन्तु र यिनीहरुको बासस्थान, जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा के कस्ता नकारात्मक असर र प्रभाव पर्न सक्छन्, सो सम्बन्धमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ अनुसार विस्तृत अध्ययन तथा विश्लेषण गरी गराई नकारात्मक असर र प्रभाव न्यूनिकरणका उपायहरु पालना तथा कार्यान्वयनको व्यवस्था प्रतिवेदनमा समेट्नु पर्ने
२. प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन गर्दा विभिन्न विकल्पहरू अध्ययन गरी सो विकल्पहरू मध्ये तथ्य र तथ्यांकको आधारमा जैविक विविधता र समग्र वातावरणमा न्यून नकारात्मक प्रभाव पुऱ्याउने एवं राष्ट्रिय निकु तथा मध्यवर्ती क्षेत्रको वन क्षेत्र न्यूनतम प्रयोग गर्ने विकल्पको छनौट गरी अध्ययन गर्नुपर्ने,
३. प्रस्तावकले अध्ययन प्रतिवेदनमा Alternative designs हरु प्रस्ताव गरी कम वातावरणीय क्षति हुने एवं राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको वन क्षेत्र न्यूनतम प्रयोग गर्ने Design छनौट गरेको विस्तृत विवरण प्रतिवेदनमा समेट्नु पर्ने,
४. संभाव्यता अध्ययन गर्दा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयका अधिकृतस्तरका प्राविधिक कर्मचारीलाई अनिवार्य संलग्न गराउनु पर्ने,
५. अध्ययन गर्दाको सबै चरणहरुमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय, सम्बन्धित स्थानीय तह, मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधिहरू र सरोकारवाला कार्यालय, संघसंस्थाहरूसंग अनिवार्य अन्तरक्रिया गरी प्राप्त राय सुझाव प्रतिवेदनमा समेट्नु पर्ने,
६. सम्भाव्यता अध्ययन गर्दा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ ले तोकेको प्रक्रिया पूरा गरी सोही निर्देशिकाले व्यवस्था गरे अनुसारको विज्ञहरूको प्राविधिक टोलीबाट गर्नु गराउनु पर्ने,
७. सम्भाव्यता अध्ययनबाट प्रस्तावित आयोजना सम्भाव्य देखिएमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ अनुसारका वयहरु समावेश गरि प्रतिवेदन तयार गर्नु पर्ने,
८. जैविक विविधता एवं समग्र पारिस्थितिकीय प्रणालीमा पर्नसक्ने असरलाई न्यूनिकरण गर्नको लागि टनेल निर्माण गर्दा Blasting को ET Tunnel Boring Machine (TBM) लगायतका उपयुक्त प्रविधिहरूको प्रयोग गर्न प्राथमिकता दिने ।
यसैबीच टोखा-छहरे सुरुङ निर्माण कार्य अघि बढाउनका लागि सोमबार मन्त्री र सांसदहरूले स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हितबहादुर तामाङ, कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिसमेत रहनुभएकी संघीय सांसद विमला सुवेदीले सोमबार प्रस्तावित सुरुङमार्ग अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।
अवलोकनपछि मन्त्री ज्वालाले सरकारको प्रमुख प्राथमिकतामा रहेको यो परियोजनाले काठमाडौं उपत्यकालाई नुवाकोट, रसुवा हुँदै चीनसँग जोड्नका लागि महत्त्वपूर्ण रहने भन्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेपछि निर्माणको काम अगाडि बढ्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको असोज पहिलो साता हुने चीन भ्रमणका क्रममा छहरे टोखा सुरुङमार्गलाई उच्च प्राथमिकताका साथ उठाइने जानकारी पनि गराउनुभयो ।
'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका क्रममा टोखा-छहरे सुरुङमार्गलाई उच्च प्राथमिकताका साथ सरकारले उठाउने छ । यो वर्ष १ अर्ब २५ करोड बजेट पनि छुट्याइएको छ । चीन सरकारको सहयोग भयो भने यसलाई तीव्र गतिमा अगाडि बढाउँछौं,' मन्त्री ज्वालाले भने, 'प्राथमिकता र गौरवको आयोजना हो । संघीय राजधानी र चीनसँग सीमासँग जोड्ने रणनीतिक सडक भएकोले भोलिको दिनमा इकोनमिक टनेलको रुपमा अगाडि बढाउनुपर्ने हुन्छ ।'
सोही क्षेत्र नुवाकोट-१ बाट निर्वाचित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले चालु आव २०८०/८१ मै शिलान्यास गर्नेगरी यस सुरुङमार्गको विषयमा प्रधानमन्त्री प्रचण्डसँग आफूले बारम्बार कुरा गरिरहेको बताउनुभयो । उहाँले यो सुरुङ बनेपछि त्यस भेगमा उत्पादन बढ्ने, नागरिकको आर्थिक स्थिति उकासिने र धेरैको आकर्षण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
'२०७४ सालमा म निर्वाचित भएर आइसकेपछि यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले मागपत्र पेस गरेको थिएँ । त्यसको दुई वर्षपछि २०७६ सालमा चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउनुभएपछि चाइनाले यो सुरुङमार्गबारे निकै चासो राखेको हामीले थाहा पायौं । केही सहमति पनि भयो । त्यसपछि कोरोना महामारी सुरु भयो । जसले चिनिया प्राविधिक टोली यहाँ बस्न सकेनन् । प्रारम्भिक अध्ययन गरेर गएको भन्ने थियो । असोज पहिलो हप्तामा सम्माननीय प्रधानमन्त्री प्रचण्ड चाइना भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसमा विगतमा भएका सहमतिबारे विशेष कुराकानी हुने भन्ने एजेन्डामध्येमा पहिलो प्राथमिकतामा यो सुरुङमार्ग पनि पर्छ,' पूर्वमन्त्री तामाङले भन्नुभयो, 'इआए अगाडि बढाउनु आवश्यक छ । त्यसपछि डीपीआर बनाउनुपर्ने हुन्छ । ८०/८१ मै शिलान्याय गर्न पाए हुने भन्ने छ । यस विषयमा मैले प्रधानमन्त्रीज्यूसँग कुरा गरिरहेको छु ।'
यो सुरुङमार्ग चिनियाँ सरकारको लगानीमा बन्ने छ । चालु आर्थिक वर्षमा नेपाल सरकारले १ अर्ब बजेट छुट्याइएको छ ।
चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनअनुसार सुरुङमार्गको सबभन्दा लामो काठमाडौं-टोखा नगरपालिकाको झोर प्रवेशद्वार र अन्तिम विन्दु नुवाकोटको शिवपुरी-७ चापाबोट क्षेत्र रहने छ । जुन ४ किलोमिटर ५० मिटरको रहेको छ । त्यस्तै ३.६ किलोमिटर र ३ किलोमिटरको दूरीको विकल्प रहेको पूर्वाधारमन्त्री ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंतर्फ २ वटा प्वाइन्ट र नुवाकोटतर्फ तीनवटा प्वाइन्ट हुने अध्ययनमा छ ।
अर्थमन्त्री महतले टोखा-छहरे सुरुङमार्गले चीन जाने रसुवागढी नाकामात्रै नभई पृथ्वी राजमार्गबाट आउने सवारी साधनलाई पनि थानकोटभन्दा छिटो काठमाडौं पुग्न पहुँचमार्ग बन्ने बताउनुभयो । सांसद सुवेदीले टोखा-छहरे सुरुङमार्ग नुवाकोटका लागि एकदमै राम्रो अवसर हुने भन्दै यहाँका जनताको जीवनस्तर उठाउन धेरै नै महत्त्वपूर्ण रहने बताउनुभयो ।
अवलोकन तथा निरीक्षणमा मन्त्री, सांसदसहित भौतिक योजना मन्त्रालयका सचिव, महानिर्देशक, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वधारण सहभागी हुनुहुन्थ्यो ।