नुवाकोट । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल नुवाकोट जिल्ला नेता सुरज तामाङले पार्टी नेतृत्व नसच्चिए कांग्रेसको भविष्य नरहने बताउनुभएको छ ।
जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा तरुण दल कार्यसमिति गठन कार्यक्रममा शनिबार सम्बोधन गर्नुहुँदै तामाङले जिल्ला नेतृत्व र पालिका नेतृत्व जनता र पार्टी कार्यकर्ताको विषयमा गम्भीर नबनेकोमा असन्तुष्टि पोख्नु भएको हो । पञ्चकन्या गाउँपालिका कांग्रेस सचिवसमेत रहनुभएका तामाङले वाग्मती प्रदेश सांसद एवं जिल्ला सभापति रमेशकुमार महतले आफ्नो जिम्मेवारी र दायित्व भूलेर आफूहरुलाई बेवास्ता गर्ने गरेको उल्लेख गर्नुभयो ।
नेता तामाङले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक हुनुभन्दा एक हप्ता अगाडि पञ्चकन्या ३ का योजनाहरुबारे जिल्ला सभापति महतलाई जानकारी गराउँदा राधिका तामाङलाई भन्नु भनेर पन्छिएको भन्दै गुनासो गर्नुभयो ।
'रमेशकुमार महत प्रदेश सांसद भइसकेपछि बजेट भाषण हुने क्रममा मैले 'दाइ यो यो ठाउँमा केन्द्रबाट सम्बोधन भएन, तपाईंले यसलाई यसरी सम्बोधन गर्नु है भनेको, राधिका तामाङलाई भन्न जाऊ भन्नुभयो' त्यसपछि त म कुन पार्टीको कार्यकर्ता हुँ भन्ने नै बिर्सिएछ,' नेता तामाङले भन्नुभयो, 'हिजो माओवादी थिएँ । न मलाई माओवादी नै सम्झिएछ कि ! मलाई अचम्म लाग्यो । कुरा त्यो होइन । उहाँ हामीले बनाएको जिल्ला पार्टी सभापति हो । हामीले नबनाए पनि जिल्लाको पार्टी सभापति हो । जिल्ला सभापतिको जिम्मेवारी के रहन्छ भने सम्पूर्ण जिल्लावासीको समस्या हेर्नुपर्ने उहाँको कर्तव्य हो । तर उहाँले त्यो रुपमा हेर्नु भएन । यो लाइभ भिडियो रमशेकुमार महतसमक्ष पुग्ने गरी हालिदिन साथीहरुलाई म अनुरोध गर्छु ।'
सभापति महतले पार्टीका नेता, कार्यकर्तालाई बेवास्ता गर्छ भने आफूहरुले पनि बहिष्कार गर्ने चेतावनी उहाँको थियो । 'यदि रमेशकुमार महतले विकास निर्माणका कुराहरुमा, हामीलाई बाइकट गर्छ भने उहाँलाई पनि हामीले स्वागत गरिरहनु पर्ने जरुरत म देख्दिनँ,' नेता तामाङको भनाइ थियो ।
उहाँले पञ्चकन्या गाउँपालिका संगठन समितिका सभापति माधवप्रसाद खनाललाई पनि पार्टी नेतृत्वसँग वडा र पालिकाको विषय पुर्याउन आग्रह गर्नुभयो । पार्टी कार्यकर्ता, गाउँपालिकाका विषयमाथि पुर्याउन नसके नेता खनालको राजनीतिक भविष्यसमेत अन्धकार हुने उहाँको भनाइ थियो । खनाल यसपटक स्थानीय तह चुनावमा पञ्चकन्या गाउँपालिका अध्यक्षको उम्मेदवार भई पराजित हुनुभएको थियो ।
'३ नम्बर वडामा विकासले निकै पछि परेको छ । तीन नम्बरलाई विशेष प्राथमिकता दिनु होला भन्ने म अनुरोध गर्न चाहन्छु । ४ नम्बरको कुरा गर्ने हो भने राधिका तामाङले अलि अलि हेरिराछ त्यहाँनिर । राधिका तामाङले पार्टीका साना साना कार्यकर्ताले लेखेका योजना पनि ल्याइदिएका छन्,' नेता तामाङको गुनासो थियो, 'हाम्रो त पार्टी संगठनले लेखेको एउटा बाटोमा पनि बजेट छैन । एउटै ठाउँको मान्छे आउँदा यहाँ (तरुण दलको भेलामा) सय जना हुन्थ्यो । किनकि एउटै बाटोका लागि मागेको १० लाख पैसा केन्द्रदेखि प्रदेशसम्म हाल्न सक्दैन । अनि कांग्रेसका कार्यक्रममा मान्छे कसरी आउँछन् ।'
नेता तामाङले करिब ८ महिनाको अवधिमा हुने तरुण दलको महाधिवेशनको तयारीमा जुट्न मातहतका संगठनलाई आग्रह गर्नुभयो । भेलाबाट पञ्चकन्या गाउँपालिका वडा नम्बर-३ मा सागर कार्कीको अध्यक्षतामा तरुण कार्यसमिति गठन गरिएको छ ।
शुक्रबार बाबुराम राईको नेतृत्वमा वडा १ मा तरुण दल कार्यसमिति गठन गरिएको थियो । शनिबारको कार्यक्रममा कांग्रेस पञ्चकन्या सभापति माधवप्रसाद खनाल, तरुण दल पञ्चकन्या अध्यक्ष सुनिल दोर्जे लामालगायतको उपस्थिति थियो ।