वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत माग्नु भएको छ । सोमबार ४ बजेर ६ मिनेटमा प्रदेशसभा बैठकमा उनलाई सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मतसम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्न अनुमति दिनुभएको थियो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।
प्रदेशसभामा रहेका सबै दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीलाई आग्रह विश्वासको मतको लागि आग्रह गर्नुभएको छ ।
विश्वासको मत दिएर हौसला प्रदान गर्नेमा आफू ढुक्क रहेको पनि मुख्यमन्त्री पाण्डेले बताउँनुभयो ।विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको पनि बताउनु भयो ।
त्यस्तै वाग्मती प्रदेशको प्रगति र विकासको कामलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नभयो । नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डे कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
उहाँलाई माओवादी केन्द्रको २३, कांग्रेसको २२, आफ्नै दल एकिकृत समाजवादीको १३ र जसपाको एक गरी ५९ सांसद्को समर्थन रहेको छ । १०९ सांसद् रहेको प्रदेशसभामा बहुमतका लागि ५५ सांसद् आवश्यक हुन्छ ।