हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
एमालेबाट मुख्यमन्त्री बन्नुभएकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बन्नु भएको थियो ।
एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको हो ।
मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो । वाग्मती प्रदेशसभामा हाल १०९ सदस्य रहेकोमा विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ । बैठकमा उपस्थित १०४ मध्ये प्रस्तावको पक्षमा ५९, विपक्षमा ४३ र तटस्थ दुई मत परेको हो ।
प्रस्तावको पक्षमा परेको ५९ मत बहुमत रहेकाले मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गर्नुभएकोे हो ।
प्रदेशसभामा एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेमकिपा र राप्रपाका दुईरदुई, जनता समाजवादी पार्टी नेपालका एक जना सांसद रहेका छन् ।
गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आवद्ध छन् ।