घलेभञ्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आफूले गाउँपालिका विकास गरेर उदाहरण पेस गरेको बताउनुभएको छ ।
ग्लोबल मिडियासँग सोमबार संक्षिप्त कुराकानी गर्दै अध्यक्ष तामाङले आफू निर्वाचित भएको ४ वर्षको अवधिमा गाउँपालिकामा उल्लेख्य काम भएको बताउनुभएको हो । 'पछिल्लो चार वर्षमा गर्न चाह्यो भने के हुँदैन भन्ने उदाहरण पेस गरेका छौं,' अध्यक्ष तामाङले भन्नुभयो । पञ्चकन्यामा विशेषगरी सडक, खानेपानी, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रको विकासका लागि आफूहरुले महत्वपूर्ण आधार खडा गरेको उहाँले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) नुवाकोटका प्रभावशाली नेता समेत रहनुभएका तामाङले आफ्नो कार्यकाल अन्तिम अवस्थामा पुगेको भन्दै प्रारम्भ भएको विकास पूर्वाधारलाई पूर्णता दिन आगामी नेतृत्व बाध्य हुने विश्वास व्यक्त गर्नुभयो । पालिकाको केन्द्र लाकुरीभञ्ज्याङ पुग्ने छहरे-राष्ट्रिय मावि कविलासको सडकलाई यसै आर्थिक वर्षभित्र कालोपत्रे गरिसक्ने उहाँको प्रतिबद्धता छ ।
पालिकाको वडा नं ४ मा पर्ने घ्याङस्वाँरा पार्क निर्माणलाई पनि तीव्रता दिइएको अध्यक्ष तामाङले बताउनुभयो । 'जाउँ है पञ्चकन्या त भनौंला तर हेर्ने र देखिने केही नहुने अवस्था भएपछि मेरै कार्यकालमा घ्याङस्वाँरा पार्क निर्माण अघि बढाएका छौं,' उहाँले जानकारी दिनुभयो, 'जहाँ पिकनिक स्पट, बसोबासको व्यवस्था, फुटबल र क्रिकेट मैदानलगायत संरचना निर्माण अघि बढायौं ।' १५ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण हुन लागेको घ्याङस्वाँरा पार्क प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको बजेटबाट प्रारम्भ गरिएको उहाँले जनाउनुभयो । अहिले पालिकामार्फत १३ लाख रुपैयाँ बजेट छुट्याइएको पनि उहाँले बताउनुभयो ।
पालिकावासी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्रीहरु डा रामशरण महत, डा प्रकाशशरण महतले झन्डै तीन दशक राजनीतिको मूल प्रवाहमा र पटक-पटक मन्त्री बन्दा गर्न नसकेको विकास आफ्नो पालामा भएको अध्यक्ष तामाङको दाबी छ । 'फूर्ती लाएको होइन, उहाँहरु (रामशरण, प्रकाशशरण) को घर जाने बाटो मैले बनाएको हुँ', अध्यक्ष तामाङको भनाइ थियो, 'बाटो बनिनसक्दा डाक्टर साबहरु छहरेमा गाडी राखेर पञ्चकन्याको कार्यक्रममा आउनुहुन्थ्यो ।'
पूर्वअर्थमन्त्री डा महतले पनि गत वर्ष गाउँपालिकाको कार्यालयमा आउँदा बाटो राम्रो बनेकोमा खुसी व्यक्त गरेको अध्यक्ष तामाङले सुनाउनुभयो । 'गत साल यही अफिसमा आएर डाक्टर साबले राम्रै बनाएछौ बाटो । खुसी लाग्यो । गरे हुँदोरहेछ त काम । हाम्रो त जगदीशजीहरुलाई कति भन्यो । पैसा पठायो । त्यो पैसा कता-कता । कहिल्यै काम अघि बढेन भन्नुहुन्थ्यो,' उहाँले स्मरण गराउनुभयो ।
आफ्नो पार्टी र आफूले बजेट पार्ने र काम गर्दा अरु पार्टीले लाजै नमानी जस लिन खोजेकोमा पनि उहाँले असन्तुष्टि जनाउनुभयो ।