पोखरा । गण्डकी प्रदेशसभा सदस्य मिना गुरुङले राष्ट्रिय जनगणनालाई पहिचान र अधिकारको अभियान बनाउनुपर्ने बताउनुभएको छ । जनगणना आधारसँग तथ्यगत महत्व राख्ने भएकाले सचेतनापूर्वक महाअभियानका रुपमा तमुहरु जुट्नुपर्ने उहाँको भनाइ थियो ।
कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने १२ औं राष्ट्रिय जनगणनाबारे तमु धिं नेपालले पोखरामा सोमबार बृहत अभिमुखिकरण कार्यक्रम सांसद गुरुङले जनगणनाले नीति निर्माण, योजनासहितमा विशेष प्रभाव पार्ने भएकाले १२ औं जनगणनालाई नमुना बनाउनुपर्ने बताउनुभयो ।
पहिचानसँगको लडाइँ पनि भएकाले एकमत एकता हुन तमुहरुलाई आह्वान गर्दै प्रमुख अतिथि गुरुङले आँखाले देख्ने, खुट्टाले टेक्ने हातले लेख्ने अवस्थासम्म गुरुङहरु क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । तमु धिं नेपालले समय सान्दर्भिक विभिन्न कार्यक्रम, अभियानहरु संचालन गर्दै आएकोमा प्रदेशसभा सदस्यको हैसियतले आफ्नो साथ सहने आश्वासन दिनुभयो।
कार्यक्रममा सहजीकरण गर्नुहुँदै प्रदेश जनगणना कार्यलयका तर्फबाट सुरेन्द्रराज पौडेलले सरकारले गर्नुपर्ने अभिमुखिकरण कार्यक्रम संस्थाले आयोजना गरेकोमा तमु धिं नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले जनगणनाको महत्व, जनगणनाको प्रश्नावली, तमुहरुको विगतको जनसाँख्यिक तथ्यांकबारे प्रष्ट्याउनुहुँदै १२ राष्ट्रिय जनगणनाको लक्ष्य गुणस्तरीय जनगणना भएको बताउनुभयो । उहाँले कुनै नछुटोस, कोही नदोहिरियोस् भन्ने मान्यतालाई आत्मसाथ गर्दै व्यक्तिगत, पारिवारिक, सामाजिक, साँस्कृतिक, आर्थिक, जनजीवनको यथार्थ विवरण जनगणनाले प्रस्तुत गर्ने दावी समेत गर्नुभयो।
आदिवासी अधिकार अभियन्ता अमृत गुरुङले राज्यले तथ्यांकलाई आफ्नो अनुकूलमा प्रयोग गरिरहेकाले आन्तरिक गोपनियताको अधिकारलाई सुनिश्चित रहने गरी तथ्यांक उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
तमु धिं नेपालमा अध्यक्ष हुमबहादुर गुरुङले राष्ट्रिय जनगणनाको महत्वलाई मनन गर्दै महाअभियानको रुपमा गाँउ बस्ती, टोलटोल, घर घर, व्यक्तिव्यक्तिलाई सचेत र सुसूचित गर्नुपर्ने बताउनुभयो ।