नुवाकोट । जापानस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) कान्साईबाट नुवाकोट पञ्चकन्या गाउँपालिका ३ मा रहेको जनकल्याण सामुदायिक पाठशालाका ४ जना र पञ्चकन्या माद्यमिक विद्यालयका १ जना विद्यार्थीलाई उपलब्ध गरेको दुई वर्षे छात्रवृत्तिबापतको अन्तिम किस्ताको रकम हस्तान्तरण गरिएको छ ।
जनकल्याण पाठशालाको प्रांगणमा शुक्रबार १७ नोभेम्बर २०२३ मा आयोजित एक समारोहमा प्रमुख अतिथि पञ्चकन्या ३ का वडाध्यक्ष रामबाबु पराजुली, एनआरएनए जापानका नवनिर्वाचित सचिव अर्जुन थापा, पञ्चकन्या माविका प्रधानाध्यापक रामबहादुर विष्ट, जनकल्याणका सञ्चालक प्रमुख टीकाराम तामाङ, प्रधानाध्यापक डीबी क्षेत्रीलगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
एनआरएनए कान्साईका निवर्तमान संयोजक तथा एनआरएनए जापानका सदस्य दिलीप शर्मा नेतृत्वको कार्यसमितिले ती दुई विद्यालयका ५ जना विद्यार्थीलाई दुई वर्षका लागि जनही १० हजार रुपैयाँ रकम उपलब्ध गराएको थियो । जसअनुसार जनकल्याणमा अध्ययनरत गोकर्ण भण्डारी, निश्चल केसी, पञ्चकन्या माविका ममता तामाङलगायत छन् । संयोजक शर्माका अनुसार गोकर्णलाई एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, सजिनलाई एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरे, रोजिनालाई एनआरएन कान्साईका सल्लाहकार टीकाराम कँडेल र निश्चललाई अनुप पौडेलले आर्थिक सहयोग गर्नुभएको थियो ।
ममतालाई एनआरएनए कान्साईका पूर्वसंयोजक भूमिराज दवाडीले स्पोन्सर गर्नुभएको थियो ।
एनआरएनए कान्साईले पहिलो वर्ष पाँच जनालाई ५० हजार रकम पठाएकोमा गत वर्ष नै वितरण गरिएको थियो । दोस्रो तथा अन्तिम किस्ता शुक्रबार वितरण गरिएको जनकल्याण पाठशालाले जनाएको छ । शुक्रबारको कार्यक्रममा एनआरएनए जापानका नवनिर्वाचित सचिव अर्जुन थापालाई विद्यालय परिवारले सम्मानसमेत गरेको थियो ।
जनकल्याणका प्रमुख गुठियार टीकाराम तामाङको अध्यक्षतामा भएको कार्यक्रम विद्लायका शिक्षक सन्तोष पराजुलीले चलाउनुभएको थियो । कार्यक्रममा शिक्षक/शिक्षिका, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति थियो ।