काठमाडौं । लोकसंगीतमा पछिल्लो समय चर्चामा रहनुभएकी गायिका बत्तीकुमारी थापाले ‘गाईलाई चरन’गीत सार्वजनिक गर्नुभएको छ । उक्त गीत शुक्रबार बिमल परियार युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
गीतमा बत्तीकुमारीलाई बिमल परियार र तारा थापामगरले स्वरमा साथ दिनुभएको छ । तारा थापामगरको प्रस्तुतिमा सार्वजनिक गीतको भिडियोमा अभिनेता पुष्प खड्का र रजनी गुरुङको मुख्य अभिनय छ ।
रमेश परियारले लेखेको गीतको भिडियो निर्देशन मौसम हिमालीको हो । एरेन्ज, मिक्सिङ र मास्टरिङ विनोद बाजुरालीले गर्नुभएको छ भने सम्पादन मनोज कार्कीको रहेको छ । यो गीतबाट गायिका बत्तीकुमारीले निकै आशा गर्नुभएको छ । उहाँले विगतमा झैं माया गरिदिन स्रोतदर्शकसमक्ष आग्रह गर्नुभएको छ ।
२०७२ सालदेखि गीतसंगीतमा होमिएकी बत्तीकुमारीले ‘फूलीवाली’, ‘खाली गाउँ’ (सालैजो), ‘बोटमा बयर’, ‘झमक्कै परे’सी रात’ बोल लगायतका गीतमा स्वर दिएर सबैको मनमनमा बस्न सफल हुनुभएको छ । त्यतिमात्र कहाँ हो र, कोलगेट इमेज लोक कलाकार सिजन–२ की फाइनलिस्ट उहाँ ५ वर्षअघि पोखरामा भएका दुई गायक प्रतियोगितामा तेस्रो स्थान ल्याउन सफल हुनुभएको थियो ।
२०७५ सालमा त्रिवेणी संगीतालयले आयोजना गरेको ‘पोखरा लोकतारा–२’ मा तृतीय उहाँ ‘सफल लोकआवाज–२०७५ एकल लोकगीत गायन प्रतियोगिता’ मा पनि तेस्रो हुन सफल हुनुभएको थियो ।
सांगीतिक कार्यक्रमका लागि नेपालका विभिन्न भाग पुग्नुभएकी उहाँ विदेशमा कोरिया र हङकङ पुगिसक्नुभएको छ । उहाँ लाइभ दोहोरीमा पनि उत्तिकै जमेर गाउन सक्नुहुन्छ ।
स्याङ्जाको राङभाङका भुवनसिंह थापा र दुपती थापाको सुपुत्री ३४ वर्षीया बत्तीकुमारी हाल पोखरा चिप्लेढुंगास्थित सफल नीरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टमा कार्यरत हुनुहुन्छ ।