मकवानपुर । वाग्मती प्रदेशमा बिहीबार मन्त्रिपरिषद् विस्तार हुने पक्कापक्की भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसका निमा लामा र नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेललाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।
'भोलि (बिहीबार) मुख्यमन्त्रीज्यूले थप दुई मन्त्री नियुक्त गर्नुहुनेछ,' स्रोतले ग्लोबल मिडियालाई भन्यो, 'कांग्रेसका निमा लामा र माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मन्त्री बन्नुहुनेछ ।' यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री बन्नुभएका जम्कट्टेल माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता र लामा हाल प्रदेशसभा सदस्य हुनुहुन्छ ।
नेकपा (एकीकृत समाजवादी) संसीय दलका नेता तथा मुख्यमन्त्री पाण्डेले सदनबाट विश्वासको मत लिनुभएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको हो । तर ४ दलीय गठबन्धनमा मन्त्रालय बाँडफाँट र संख्याको विषयमा सहमति नबनेकोले तत्काललाई दुई मन्त्री मात्रै थप हुने भएको छ । स्रोतका अनुसार मन्त्रालय विभाजन गरेर १३ मन्त्री र तीन राज्यमन्त्री बनाउने तयारीमा पाण्डे हुनुहुन्छ । संविधानअनुसार कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री विस्तार गर्न सकिने भएका कारण मन्त्रालय विभाजन गर्दा कुनै असर नपर्ने गठबन्धनका नेताहरूको भनाइ छ ।
संविधानअनुसार वाग्मतीमा २२ सदस्यीयसम्म मन्त्रिपरिषद् बनाउन सकिन्छ । मुख्यमन्त्रीले पनि मन्त्रालय विभाजन गर्ने विषयमा सदनमा उठेको प्रश्नको जवाफ दिँदै संविधानअनुसार अगाडि बढ्छौं भनेर त्यसतर्फ संकेत गरिसक्नुभएको छ ।
कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ ग्रहणमा तीनवटै पार्टीले मन्त्रीको नाम उपलब्ध गराउन नसकेपछि पाण्डेले चार सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको थियो । नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएपछि गठबन्धनले पाण्डेको नेतृत्वमा सरकार गठन गरेको थियो ।
मुख्यमन्त्री पाण्डेले शपथ लिनुभएकै दिन नेकपा (एस) का कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला तथा कानुनमन्त्री, सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रकी कुमारी मोक्तान र कांग्रेसका कृष्णलाल भडेँललाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।