सिन्धुली । नेपाली वीर गोर्खालीहरुले ब्रिटीस साम्राज्यवादी सेनामाथि विजय प्राप्त गरेको स्मरणमा प्रत्येक वर्ष कात्तिक २४ गते सिन्धुलीगढीमा विभिन्न कार्यक्रमको आयोजना गर्दै विजयोत्सव मनाईन्छ । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अंग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो । यो २५५ औं विजयोत्सव हो ।
बुधबारको विजयोत्सव कार्यक्रमको प्रमुख अतिथिक नेकपा एमालेका महासचिव ईश्वर पोखरेल हुनहुन्छ । उहाँ मंगलबार नै सिन्धुली पुग्नु भएको थियो । विजयोत्सव सँगै सदरमुकाम सिन्धुलीमाढीको बाल उद्यान पार्कको उद्घाटन, बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रम पनि रहेको थियो ।
तर सत्ता गठबन्धनका प्रतिनिधिले विजयोत्सव कार्यक्रमको उद्घाटन गर्न सरकारको प्रतिनिधि लानु पर्ने माग राखेको र एमाले निकटले नमानेपछि विवाद उत्पन्न भएको थियो । अहिलेसम्म सिन्धुलीगढी विजयोत्सको उद्घाटन गर्न सरकारकै नेतृत्व गरेका व्यक्ति नै लाने गरेकाले यो पटक पनि त्यो क्रमलाई निरन्तरता दिनुपर्ने गठबन्धनको मागलाई एमालेले अस्विकार गरेको गठनबन्धन पक्षको आरोप छ ।
विवाद पछि गढी र माढी दुई ठाउँमा मनाईयो
विवाद भएपछि एमालेले सिन्धुलीगढीमा र गठबन्धनले सिन्धुलीमाढीमा विजयोत्सव मनाएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज राजन दाहालले बताउनु भयो ।
ग्लोबल मिडियासँगको कुराकानीमा उहाँले भन्नुभयो ‘एमालेका साथीहरुले एकलौटी रुपमा विजयोत्सव मनाउन लाग्नुभयो, गठनबन्धनको तर्फबाट हामीले सिन्धुलीमाढीमा विजयोत्सव मनाउन लागेका छौं ।’
सिन्धुलीगढी राष्ट्रको सम्पत्ति भएको हुँदा राष्ट्रकै व्यक्तिलाई आमन्त्रण नगरी एमालेले सरकारी सम्पत्ति दुरुपयोग गरेको प्रदेश सांसद् समेत रहनुभएका दाहालले बताउनुभयो । विजयोत्सवलाई एमालेकरण गर्न खोजेको र यो कुरा गलत भएको जानकारी गराउँदा पनि चासो नदिएको गठबन्धनको आरोप रहेको छ ।
यस्तै पार्कको उद्घाटन, राष्ट्रका व्यक्तिहरु बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रम सरकारका प्रतिनिधिबाट नै हुनुपर्ने गठबन्धनको माग रहेको थियो । एमालेले अटेर गरेपछि गठबन्धन दलका कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरा हालेर बसेका थिए ।
एमालेका कार्यकर्ताहरु पनि उक्त स्थानमा भेला हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले माढी बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । अप्रीय घटना हुन नदिन त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । अहिले अवस्था सामान्य भएको बुझिएको छ ।