घलेभञ्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा निकोर्सिदेखि दुई दिने 'पाँचकन्या जात्रा' सुरु हुँदै छ ।
सबै धर्मावलम्बीको साझा थलो घलेभञ्जाङको पूर्वोत्तरमा अवस्थित पञ्चकन्या मन्दिरमा परापूर्वकालदेखि हरेक वर्ष मार्ग चतुर्थीदेखि पञ्चमीसम्म चल्ने मेला यस वर्ष शुक्रबार र शनिबार चल्न लागेको हो । यही मंसिर १५ र १६ गते हुने मेलाको तयारी धमाधम भइरहेको पञ्चकन्या मेला व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अध्यक्ष गणेश तामाङले मेलाका लागि मन्दिर परिसर सरसफाई, सजावट, सांस्कृतिक कार्यक्रम तयारी र प्रचारप्रसारको काम भइरहेको जानकारी दिनुभयो । उहाँले स्थानीय सरकार पञ्चकन्या गाउँपालिकाबाट विनियोजित बजेटबाट पाँचकन्या थानलाई यसपटक पुनर्निर्माण गरिएको बताउनुभयो ।
विगतका वर्षहरुमा पञ्चमीको दिन मादी सेलाउन घलेभन्ज्याङ झर्नुपर्ने बाध्यता रहेकोमा यसपटक मन्दिर नजिकै धारा बनाइएको अध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार यसपटकको जात्रालाई व्यापक बनाउने तयारी स्वरुप काम भइरहेको छ । जात्रा व्यवस्थापनका लागि गाउँपालिकाले ४ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
पुनर्निर्माणको क्रममा पाँचकन्या थान । तस्बिर सौजन्य : गणेश तामाङ
जात्राको मुख्य आकर्षणको रुपमा रहने स्थानीय झाँक्री नाँच, राष्ट्रिय र स्थानीय विभिन्न विधाका कलाकारहरुको सहभागितामा सांस्कृतिक साँझलगायत छन् । मेला भर्न घलेगाउँका साथै आसपासका पञ्चकन्या गापाका कार्तिके, राउटार, कविलास, बयागाउँ, जैसीगाउँ, कुवापानी, नेवारपानी, छापथोक, थप्रेक, आरुखर्क, घ्याङस्वाँरा, बोकेडाँडा, भद्रुटार, शिवपुरी गाउँपालिकाका सिलामे, जेब्राङ, खनियाखर्क, सुनखानी, थानसिंङलगायत ठाउँका मानिसहरु पुग्ने गर्छन् । पछिल्ला वर्ष सडक मार्गको पहुँच पुगेपछि काठमाडौं आसपासबाट समेत मेला हेर्नेहरु बाक्लै जाने गर्दछन् ।
जात्राको पहिलो दिन
मेलाको पहिलो दिन दिनभरिको तयारीपछि स्थानीय झाँक्रीहरु सिँगारिएर मन्दिरमा जाने, झाँक्रीसँगै स्थानीयले मनोकांक्षा पूरा हुने विश्वासले दियो र मादी बत्ति बाल्ने चलन छ । आफ्नै भेषभूषामा सजिएका झाँक्रीहरु बेलुकी पाँचकन्या मन्दिरमा जाने, पूजाआजा गर्ने र रातभर पूजापाठ र नाँच्ने गर्छन् भने व्रतालुहरुले रातभर अखण्ड बत्ति बाल्ने चलन छ । साँझ जगाएको मादी बिहान धारामा सेलाउने चलन छ ।
बेलुकी र बिहान मादी सेलाउने अनि पञ्चमीका दिन झाँक्री घर पुग्ने बेलासम्मै महिला, पुरुष हात समाएर राम्ररी नाच हो झाँक्री नाँच भन्दै भट्याउने चलन छ । झाँक्री अधिकांश तामाङ समुदायका हुन्छन् ।
पञ्चकन्या मन्दिर परिसरमा सातकन्या, तीनकन्या, थानापति देवी, सिकारी भूमे थान छन् । त्यस्तै मन्दिरको दक्षिणतर्फ करिब सय मिटरको दूरीमा कपुर भूमेको थान छ । जहाँ हरेक वर्ष दसैंको फूलपातीका दिन पूजाआजासहित बलि चढाउने चलन छ । सामुदायिक वन क्षेत्रमा पर्ने पञ्चकन्या मन्दिरमा जेष्ठ चण्डी पूर्णिमाको दिन उभौली अर्थात् किसानका खेतीबाली सप्रियोस् भन्ने कामनासहित भाकल पूजा गरिन्छ । त्यसपछिको मेला ठूलो एकादशीपछिको चतुर्थी र पञ्चमीको हो ।
दोस्रो दिन
पञ्चकन्या मन्दिर परिसरमा रहेको सप्तकन्यामा स्थानीयले भाकल र नियमित रुपमा जात्राको अवसरमा बलि दिने चलन छ । रोगहरण र मनले चिताएको पुग्ने विश्वासले भाकल गर्ने, गाउँको देउतालाई बुझाउन भनेर नियमित पूजाको रुपमा बोका, कुखुरा बलि चढाइन्छ । कतिपयले जात्रा बाहेकका समयमा पनि पञ्चबली चढाउने गरेको स्थानीय बताउँछन् ।
किम्बदन्ती
पञ्चकन्या मन्दिर परिसरको उत्तरतर्फको पहराको कुनामा अवस्थित सातकन्या थानमा जात्राको अन्तिम दिन पशुबलि दिइसकेर सबै भक्तजन फर्किसकेपछि सुनसान अवस्थामा देवीले सर्पको रुप धारण गरेर भोग दिएको खान आउने गरेको स्थानीयको भनाइ छ ।
अविछिन्न रुपमा तामाङ पूजारी
परापूर्वकालदेखि नै पञ्चकन्या मन्दिरमा मुख्य पुजारी र झाँक्री तामाङ जातिका रहेकाले त्यही समुदायकोले निरन्तरता पाइरहेको छ । वर्तमान मूलझाँक्री एवं पूजारी लालबहादुर तामाङका अनुसार तत्कालीन घले राजाको पालादेखि अहिलेसम्म २० जना पूजारी पुगेका छन् ।
- छ्योइपण्डित झाँक्री
- शीतलसिंह झाँक्री
- वीरजीत झाँक्री
- समरसिंह झाँक्री
- वासुदेव झाँक्री
- गोरे झाँक्री
- साक्री झाँक्री
- कलुराम झाँक्री
- आँसुमान झाँक्री
- श्रीमान् झाँक्री
- मानदोर्जे झाँक्री
- ङेवाङ झाँक्री
- छेवाङ झाँक्री
- सेते झाँक्री
- सम्बरबहादुर झाँक्री
- सेलकर झाँक्री
- गाजले झाँक्री
- धनबहादुर झाँक्री
- चन्द्रबहादुर झाँक्री
- लालबहादुर तामाङ झाँक्री (वर्तमान)
मन्दिर उत्पतिको ऐतिहासिक तथ्य प्रमाण अहिलेसम्म भेटिएको छैन । स्थानीय जानकारहरुका अनुसार नेपालमा बाइसे चौबिसे राज्य रहेको बेला घलेगाउँमा घले राजाले राज्य गर्दथे । त्यतिबेला सो स्थानलाई 'घले राजाको राजधानी' भन्ने पनि गरिन्थ्यो । घले राजा धर्मकर्ममा बढी रुची राख्थे । त्यसैकारण पञ्चकन्या मन्दिरको रेखदेख उनै घले राजाले गर्दथे । राजा वृद्ध हुँदै गएपछि जनताले एकजना पुजारी राख्न सुझाव दिएछन् । त्यसपछि एकदिन राजाले गाउँले भेला गरी त्यहाँको प्रसिद्ध झाँक्री छ्योइ पण्डितलाई पञ्चकन्या मन्दिरमा पुजारी तोकी पूजा कार्य अगाडि बढाइएको बताइन्छ ।
पहिलो भनिएको पुजारी यस्ता शक्तिमान !
परापूर्वकालमा छ्योइ पण्डित झाँक्री र आर्य जातिका बाहुन कुनै ठाउँमा घुमेर आउँदा घलेगाउँको जन्तरे पोखरीमा नुहाउने सम्बन्धमा विवाद चर्किएछ । बाहुनलाई झाँक्रीले पहिले नुहाउन भनेछन् । बाहुन नुहाउन लुगा फुकालेर लगौटी मात्र लगाएर पोखरीमा डुबुल्की मारी निस्किएछन् । त्यसपछि छ्योइ पण्डित बाजेको पालो आयो नुहाउने । उनले चाहिँ आन्द्राभुँडी सर्लक्क निकालेर धुन थालेछन् ।
शरीर नुहाउने भनेकोमा झाँक्रीले भित्रि शरीर आन्द्राभुँडी नै पखालेको देखेका बाहुनले झाँक्रीलाई भनेछन्, 'तेरो शक्ति छ भने बाघको दूध दुहेर ल्याउ ।' छ्योइ पण्डित झाँक्रीले घोडा अघि लगाएर बाघको दूध होइन कि बथानै बाहुनको घरमा पुर्याइदिएपछि बाहुनले, 'ल तँ धेरै शक्तिशाली रहेछ भनेछन् ।' झाँक्री शक्तिमान रहेको पुष्टि भएपछि सबैले पुज्न थालेको किम्बदन्ती पाइन्छ ।
तामाङ झाँक्रीहरुले पञ्चकन्या मन्दिरमा नेतृत्व गरे पनि क्षेत्री, बाहुनहरुले पूजा नै नगर्ने भन्ने होइन । सो मन्दिरको देउता विशेषगरी तामाङ झाँक्रीले बुझाउँदा बढी खुसी हुने भन्दै क्षेत्री, बाहुन समुदायले शुभकार्य र देउतालाई घन्टा चढाउनेजस्ता विषयमा मूल पूजारीमार्फत गराउने चलन छ । तामाङ समुदायको बाक्लो बस्ती भएको यहाँ क्षत्री, बाहुन, दलित लगायतको पनि मिश्रित बसोबास पाइन्छ ।