नुवाकोट । नुवाकोटमा सञ्चालित पोस्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयका प्रशिक्षार्थीहरूलाई एकदिने होटल सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
नेपालकै पहिलो कार्यकारी सेफ गोविन्द नरसिंह केसीले शिक्षालयमा अध्ययनरत ७६ जना प्रशिक्षार्थीहरूलाई लगाव र मेहनत भए होटल क्षेत्रमा सम्भावना भएको बताउँनु भएको छ । नुवाकोटमै जन्मिनु भएका केसीले गृह जिल्लाका प्रशिक्षार्थीहरूलाई आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
उहाँले प्रशिक्षार्थीहरूलाई २ वटा सेसनमा प्रशिक्षित गर्नुभएको थियो । पाँच दशक होटेल क्षेत्रमै बिताइसक्नु भएका केसीले आफ्नो सम्पूर्ण परिवारनै राजनीतिमा होमिँदाकाे चरणमै पनि आफू ठुलो सङ्घर्षका साथ उक्त क्षेत्रमा अघि बढेको बताउनुभएको छ ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य महासङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले सीप र समृद्धि परिपुरक बस्तु रहेको बताउँदै दक्ष हुने बितिक्कै विदेश जानुपर्ने भन्ने चिन्तनलाई त्याग्दै स्वदेशमै सीपको सदुपयोग गर्दै उद्धमी बन्न प्रशिक्षार्थीहरूलाई अभिप्रेरित गर्नुभएको छ ।
होटल तथा पर्यटन व्यवसायी महासङ्घका केन्द्रिय उपाध्यक्ष सन्तोष उप्रेतीले नुवाकोट मात्रै नभई देशमै दक्ष जनशक्तिको अभाव रहेको कुरा बताउँदै आफूले रोजगारीको सिर्जना गर्न शिक्षालयका प्रशिक्षार्थीहरूको लागि सदैव तत्पर रहेको बताउनुभएको छ ।
निमित्त शिक्षालय प्रमुख प्रकाश रैलाले नुवाकोट र रसुवा आतिथ्यता क्षेत्र त्रिदेशीय मार्ग जोड्ने सडक मार्ग र विभिन्न अन्य सम्भावना रहेको हुनाले आफूहरू परिवर्तन र नवीनताको लागि भोकाएको बताउँदै सबै सरोकारवालाहरूको साथ र सहयोग पाएमा सफलता हासिल गर्न सकिने कुरामा जोड दिनुभएको छ ।
उहाँले प्रशिक्षार्थीहरूलाई उत्कृष्ट प्रयोगात्मक गराउनुको साथसाथै देशका प्रख्यात होटलहरूमा प्रशिक्षार्थीहरूको लागि इन्टर्नसिपको लागि पठाइएको र आगामी दिनमा रोजगारीको समेत व्यवस्थापन गरिने बताउनुभएको छ ।
शिक्षालयका निमित्त शिक्षालय प्रमुख प्रकाश रैलाको सभापतित्व भएको कार्यक्रममा होटेल व्यवसाय महासंघ नुवाकोटका अध्यक्ष बासुदेव अधिकारी, भ्वाइस अफ सेफ मिडियाका प्रोसुडर बिक्रम गिरी, विभागीय प्रमुखहरू सुजिता भुजु, अस्मिता बजगाईँलगायतको सहभागिता रहेको थियो ।