काठमाडौं । बिहीबारदेखि सुरु हुने १२ औं राष्ट्रिय जनगणनाको सम्बन्धमा आदिवासी जनजाति महासंघको ८ बुँदे अपिल जारी गरेको छ । आ–आफ्नो जाति/जनजातिको नाम, मातृभाषा, पुर्ख्यौली भाषा, धर्म प्रस्ट रूपमा लेख्न लगाउने, जाति, भाषा, धर्मबारे आफू सङ्लग्न/सम्बन्धित आदिवासी जनजाति समुदायको प्रतिनिधिमूलक संगठन/संस्थाले गरेको निर्णयअनुरूप लेखाउने । जाति, धर्म, मातृभाषाजस्ता महल दुरूस्त भरे/नभरेको हेर्नेलगायत विषय समेटेर आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालयले अपील जारी गरेको हो ।
अपिलमा परिवारका सङ्ख्या अक्सर घरैमा बसोबास गर्नेको सङ्ख्या लेखाउने, सँगसँगै परिवारमा अक्सर नबस्ने स्वदेशमा वा विदेशमा बसोबास गर्नेको सङ्ख्या खुलाउने, पूरा भएको उमेर, वैवाहिक स्थिति (१० वर्षभन्दा माथिकाले मात्र), पढ्न–लेख्न जानेको/नजानेको (५ वर्षभन्दा माथिकाले मात्र), यदि जानेको भए कतिसम्म पास गरेको र कलेज, विश्वविद्यालय स्तर उत्तीर्ण गरेको भए कुन विषयमा कति भन्ने प्रस्टसँग लेखाउने, जन्मस्थान जिल्ला, देश कहाँ भएको, हालसम्म आमा (१५–४९ वर्षका महिलाले मात्र)को गर्भबाट जन्मेको, जीवित, मरेको र कुल छोराछोरी खुलाउने बुँदा छन् ।
यस्तै घरपरिवारमा कोही शारीरिक अपाङ्गता भएमा कस्तो प्रकारको हो, प्रस्टसँग खुलाउने ।, घरपरिवारमा लैङ्गिक तथा यौनिक अल्पङ्ख्यक भएमा कस्तो प्रकारको हो, प्रस्टसँग खुलाउने, गएको एक वर्षमा कुनै आम्दानी हुने काम गरेको छ भने के काम गरेको, कहाँ गरेको, नगरेको भए के कारणले नगरेको खुलाउने, प्रश्नावली भरिरहँदा गणकले विभिन्न कोड भर्दा सही कोड भरेको–नभरेकोबारे यकिन गर्ने । गणकले पेन्सिल वा मेट्न मिल्ने सामग्रीले लेखेको छ भने डटपेन प्रयोग गर्न लगाउने लगायत छन् ।