काठमाडौं । देशको पूर्वी क्षेत्रको प्रदेशको नाम कोशी राखिएपछि पहिचानवादीहरू १० महिनादेखि आन्दोलित रहेकै बेला ताम्सालिङ राज्य प्राप्तिको आन्दोलन पनि हुने भएको छ । ताम्सालिङ संयुक्त सङ्घर्ष समिति नेपाल, केन्द्रिय समितिको आयोजना तथा नेपाल तामाङ घुदङको समन्वयमा सोमबार काठमाडौंमा भएको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएको हो ।
आन्दोलनको नेतृत्व ताम्सालिङ संयुक्त सङ्घर्ष नेपालले गर्ने भएको छ । समिति अध्यक्ष डा. गणेश योञ्जनले अबको सङ्घर्ष ताम्सालिङ प्राप्त गरेरै छाड्ने दृढतासहित हुने बताउँनुभयो ।
‘लाखौँ तामाङहरू ताम्सालिङ प्राप्तिका लागि सडकमा आउनैपर्छ । यो हाम्रो लागि ऐतिहासिक सङ्घर्ष गर्ने अवसर पनि हो’, डा. योञ्जनले भने, ‘ताम्सालिङ प्राप्तिको लक्ष्य पूरा गरेरै छाड्नुपर्छ ।’ ताम्सालिङ प्राप्तिको आन्दोलनमा सबै राजनीतिक दलको तामाङजन्य संघ संगठन, अन्तर्राष्ट्रिय तामाङ परिषद्, नेपाल तामाङ घेदुङ, विभिन्न भाषिक र सांस्कृतिक संघसंस्थालाई गोलबद्ध गर्ने समितिले जनाएको छ ।
समितिका अनुसार सत्ता हल्लाउने गरिको आन्दोलन अबको आवश्यकता हो । त्यसका लागि लाखौँ तामाङलाई सडकमा ओराल्ने समितिका सदस्य सचिव तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले बताउँनुभयो ।
‘हामी ताम्सालिङ प्राप्तिका लागि सँधै नलड्नेगरी अब लड्नुपर्छ । यसको तयारीमा जुुटौँ । हामीले सदियौँदेखि असह्य उत्पीडन भोग्यौँ’, उहाँले भन्नुभयो , ‘त्यसका लागि सत्ताधारीहरू आत्तिनेगरी लाखौँ तामाङ सडकमा आउनुपर्छ ।’ यसपटक समितिले आन्दोलनको कार्यदिशासमेत तय गरेको छ । कार्यदिशाबारे सरोकारवालाहरूसँग समितिले छलफल पनि गरेको छ ।