काठमाडौं । वाग्मती प्रदेशको नाम नेवाः ताम्सालिङ प्रदेशको हुनुपर्ने माग राख्दै तामाङ र नेवार समुदायले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । ताम्सालिङ संयुक्त संघर्ष समिति, नेपाल तामाङ घेदुङ र नेवा दय दवु थिथि खलः पुचःले काठमाडौंको भूगोलपार्क न्युरोडदेखि असनचोक सम्म प्रदर्शन गरेका हुन् ।
असनचोकबाट आयोजित सभालाई सम्बोधन गर्दै तामाङ र नेवार अगुवाहरूले वाग्मती प्रदेशको नाम खारेज गरेर नेवाःताम्सालिङ राखिनुपर्ने आफूहरूको प्रमुख माग रहेको धारण राखेका छन् । उनीहरूले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरुद्ध नबोल्न पनि खबरदारी गरेका छन् ।
सभालाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले वाग्मती प्रदेशको नाम नेवा ः ताम्सालिङ राखिनु आफूहरूको न्यूनतम शर्त रहेको भन्दै प्राप्तिको लागि आन्दोलन शुरु भएको उद्घोष गर्नुभयो ।
उहाँले तामाङ र नेवार समुदायको ऐतिहासिक सभ्यताबाट विकसित संयुक्त भूमि प्रदेश नम्बर ३ लाई जबर्जस्त चुनावी अङ्कगणितकाे बलमा वाग्मती नामकरण गरी पञ्चायती अञ्चलको नाम पुनस्थापित गरिनु एकात्मक र केन्द्रिकृत मानसिकताबाट उठ्न नसक्नु रहेको भन्दै यसलाई अब तामाङ र नेवारहरूले सहेर नबस्ने चेतावनी दिनुभयो । पछिल्ला दिनमा देशमा परिवर्तन विरोधीहरू सल्बलाएको भन्दै अध्यक्ष तामाङले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरुद्ध नबोल्न पनि खबरदारी गर्नुभयो ।
नेवा दय दुवुका अध्यक्ष पवित्रमान बज्राचार्यले पहिचानको आन्दोलन कुनै जात, धर्म र पार्टी विरुद्ध नभएको बताउनुभयो । उहाँले नेवाः ताम्सालिङ यो भूमिमा बस्ने सबैको साझा भएको भन्दै पहिचानको मुद्दालाई गलत अर्थ नलगाउन आग्रह गर्नुभयो । आदिवासी जनजातिको पहिचानको आन्दोलनलाई जातिवादको नाम दिएर राजनीतिक दलहरूले राजनीति गरिरहेको भन्दै बज्राचार्यले त्यसो गरे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।
नागरिक अगुवा एवं लेखक खगेन्द्र सङ्ग्रौलाले पहिचानको आन्दोलनलाई राज्यले बेलैमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । समानताको लागि भएका आन्दोलनहरू लामो समय लागेपनि कुनै दिन उत्कर्षमा पुग्ने भन्दै उहाँले कोसीमा जारी आन्दोलनलाई नजरअन्दाज गरे नेवा ताम्सालिङ हुँदै देशैभर पहिचानकोआन्दोलन फैलाउने बताउनुभयो । नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जे शेर्पाले आदिवासी जनजातिको पहिचानको आन्दोलनलाई राज्यले कम्तीको नआक्न चेतावनी दिनुभयो ।
सभामा किराँत यक्थुङ चुम्लुङका अध्यक्ष प्रेम याक्तेन, तमु ह्युल छोंजधिका अध्यक्ष कर्णबहादुर गुरुङ, मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन, शेर्पा संघका महासचिव लाक्पा शेर्पा, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, आदिवासी महिला महासंघका अध्यक्ष छिमि शेर्पालगायतले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै माग सम्बोधन गर्न जोड दिनुभयो । प्रदर्शनमा तामाङ ताम्बा, बोेम्बो र नेवाको धिमेबाजाको टोलीले झाँकी प्रदर्शन गरेका थिए ।
प्रदर्शनका फोटोहरु