मनहरी (मकवानपुर), ३० मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताउनुभएको छ । आज हेटौँडामा आयोजित मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले असहाय बेवारिसे नागरिको अभिभावक प्रदेश सरकार बन्ने बताउनुभयो ।
प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थालाई सहयोग गर्दै मानवता र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उहाँले बताउनुभयो । प्र्रदेश सरकार स्थापनादेखि हालसम्म मानव सेवा आश्रमको व्यवस्थापनका लागि रु चार करोडभन्दा बढी रकम सहयोगस्वरुप लगानी गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कामका लागि रकम विनियोजन गर्न सरकार तयार रहेको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले रु ४० लाख सवारी खरिदका लागि विनियोजन गरेको बताउनुभयो । स्रोत साधनले भ्याएसम्म आगामी दिनमा पनि आश्रमका विभिन्न कार्यमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले नागरिकको सहायताका विभिन्न विषयमा प्रदेश सरकारले लगानी गरिरहेको बताउनुभयो ।
सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सडक मानवमुक्त प्रदेश निर्माणको अभियानमा प्रदेश सरकारले काम अघि बढाएको बताउनुभयो । अभिभावक नभएका बालबालिका तथा असाहय नागरिक तथा वृद्धवृद्धाको साथमा प्रदेश सरकार विगतदेखि नै रहँदै आएको र आगामी दिनमा पनि विभिन्न माध्यममार्फत क्रियाशील रहने जानकारी दिनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा संविधानले व्यवस्था गरेअनुसारको अधिकार जनतालाई दिलाउन राज्यका हरेक अङ्ग तयार रहनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राजनीति पनि मानव सेवाकै लागि हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडा मानवताको सहरका रूपमा रहेको र हेटौँडाबाट मानवताको सन्देश विश्वभर फैलिने बताउनुभयो । सुन्दर नगरीको रूपमा रहेको हेटौँडाको शोभा बढाउने काम मानव सेवा आश्रमले गरिरहेको र आश्रमको समस्या समाधनमा हेटौँडा उपमहानगरपालिकाले निरन्तर सहयोग उपलब्ध गराउने उहाँको भनाइ छ ।