काठमाडौं,रासस । नेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिको प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि ‘नवौँ नेपाल फर्मा एक्स्पो’को आयोजना गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनका सङ्घका अध्यक्ष महेश प्रधानले नेपाली औषधि उत्पादनको बजारीकरण गर्न र अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि एक्स्पो आयोजना गर्न थालिएको जानकारी दिनुभयो ।
उहाँले एक्स्पोमा नेपाली औषधि कम्पनीले भित्र्याएको प्रविधिबारे पनि जानकारी गराइने बताउनुभयो । नेपाली औषधि उत्पादनको अमेरिका, जापान, चीन र भारतले उत्पादन गर्ने प्रविधि अवलम्बन गरेको उहाँले बताउनुभयो । नेपाली उद्योगले उत्पादन गरेका ५० प्रतिशत औषधिले नेपाली बजार धानेको अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
एक्स्पो चितवनमा आगामी फागुन २५ देखि २७ गतेसम्म हुने छ । एक्स्पो संयोजक प्रभात रुङ्गाटाले औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई देखाइने बताउनुभयो । एक्स्पोमा नेपालमा उत्पादन भएका औषधिलाई निर्यात गर्नका लागि सेमिनारसमेत आयोजना गरिने उहाँले बताउनुभयो ।
उहाँले विदेशी युवालाई लक्षित गरेर ‘करिअर मिट’समेत एक्स्पो आयोजना गरिएको बताउनुभयो । एक्स्पोमा नेपाली औषधि उत्पादन गर्ने प्रविधिबारे जानकारी लिनका लागि कम्बोडिया, जर्जियाबाट मानिस आउने उहाँले बताउनुभयो । एक्स्पोमा चीन, भारत, सिङ्गापुर र बंङ्गलादेशका एक सय ५० भन्दा बढी कक्ष रहनेछन् ।
सङ्घका पूर्वअध्यक्ष जीनारायण क्षेत्री र शङ्कर घिमिरेले विगतको तुलनामा नेपाली औषधि उत्पादनले फड्को मारेको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरको प्रविधिबाट नेपाली औषधि उत्पादन भइरहेको बताउनुभयो । प्रत्येक दुई–दुई वर्षमा हुने एक्स्पोमा यस वर्ष ३० हजारभन्दा बढी मानिसले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।