नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ समुन्द्रटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा आज पुस ७ गतेदेखि मेला सुरु भएको छ । धान्य पूर्णिमाको बेला लाग्ने ४ दिने मेला एकादशीबाट सुरु भई १० गते पूर्णिमाका दिन सम्पन्न हुने दुप्चेश्वर गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष वीरबल तामाङले ग्लोबल मिडियालाई जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय ‘दुप्चेश्वर क्षेत्र विकास कोष’बनाई मेला व्यवस्थापन गरिएको छ ।
प्रवक्ता तामाङले मन्दिर क्षेत्र पुग्ने सडक मर्मत, सडक बत्ति जडान, पाहुनालाई बस्ने ठाउँ, पार्किङ स्थल बनाउने, मन्दिर परिसर सजावटलगायत विभिन्न तयारी गरिएको बताउनुभयो । मेलामा दुप्चेश्वरमा उत्पादन गरिने हस्तकला सामग्री, भिर माहुरीको मह, चौरीको घिउ, छुर्पी, फाफर पिठोलगायतको स्टलहरु राखिएका छन् ।
मेला व्यवस्थापनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा ५ लाख रुपैयाँ विनियोजन गरिएको पनि प्रवक्ता तामाङले जानकारी गराउनुभयो । उक्त रकम मन्दिर परिसर सजावट, टाढा-टाढाबाट आउने पाउनु सत्कारलगायतमा खर्च भएको छ । उहाँका अनुसार दैनिक रुपमै ४/५ सय जना भक्तालु दुप्चेश्वर पुग्ने गरेकाले यस वर्ष मेला अवधिको तीन दिन दैनिक १५ हजार र ९ गते मुख्य दिन हजारौं भक्तजनले मेला भर्ने अपेक्षा गाउँपालिकाको रहेको प्रवक्ता तामाङले बताउनुभयो । मेलाका अवसरमा विभिन्न किसिमका झाँकी प्रस्तुत गरिने छ ।
जात्रामा सहभागी भक्तजनको लागि थर्पु, बाँस बस्न अस्थायी आवास, जात्रामा सहभागी हुने झाँक्री, लामालगायतलाई थप व्यवस्था मिलाइएको छ । मेलामा नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौँ, गोरखा, मकवानपुर, चितवनलगायतका तीर्थालु पुग्ने गर्दछन् ।
दुप्चेश्वर मेलाको चिनोका रूपमा बाँस र निगालोबाट बनेको थुन्से, नाङ्लो, भकारी, चल्नुलगायतका हस्तकलाका सामग्री, पशुचौपायलाई धुवाउन धुपीको लौरोको कारोबार हुने गरेको छ ।
दुप्चेश्वर मन्दिर दर्शन गरे सन्तान प्राप्ति हुने, बोली नफुट्ने बालबालिकाको बोली फुट्ने जनविश्वास छ । किवंदन्तीअनुसार स्थानीय बासे तामाङको गाई तादी नदी किनार छेउको भिरमा बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको थियो। त्यही स्थानमा स्थानीयले दुप्चेश्वर महादेव स्थापना गरे । र, मन्दिरमा दुई सय वर्षयता पूजाआजा गर्दै आएको जानकार बताउँछन् ।
किवंदन्ती अनुसार समुद्र मन्थन गर्दा निस्किएको विष सेवनपछि छटपटाएका भगवान शिव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएका थिए । त्यसैले दुप्चेश्वर महादेवलाई दोस्रो पशुपतिनाथका रूपमा पुजिने गरेका छन् ।