नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ समुन्द्रटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा लागेको चार दिने मेलामा ४ लाख ९३ हजारभन्दा बढी भेटी संकलन भएको छ ।
गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङलगायतको सहभागितामा बिहीबार गणना गर्दा पार्किङ र जुत्ता चप्पलको शुल्कबाहेक ४ हजार ९३ हजार ८६५ रुपैयाँ भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । जसमा हाटकरबापत ६० हजार रुपैयाँ रहेको छ ।
भेटी रकम गणनाको क्रममा विदेशी मुलुक चीन, भारत, क्यानडा, मलेसिया, दुबई, साउदी र भुटान आदि देशका नोटहरु पनि फेला परेको कोषले जनाएको छ ।
धान्य पूर्णिमाको बेला लाग्ने ४ दिने मेला यस वर्ष पुस ७ गते एकादशीबाट सुरु भई १० गते सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष थापाको अध्यक्षतामा १३ सदस्यीय ‘दुप्चेश्वर क्षेत्र विकास कोष’बनाई मेला व्यवस्थापन गरिएको थियो ।
मेलामा नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौँ, गोरखा, मकवानपुर, चितवनलगायतका तीर्थालु पुग्ने गर्दछन् । दुप्चेश्वर मेलाको चिनोका रूपमा बाँस र निगालोबाट बनेको थुन्से, नाङ्लो, भकारी, चल्नुलगायतका हस्तकलाका सामग्री, पशुचौपायलाई धुवाउन धुपीको लौरोको कारोबार हुने गरेको छ ।
दुप्चेश्वर मन्दिर दर्शन गरे सन्तान प्राप्ति हुने, बोली नफुट्ने बालबालिकाको बोली फुट्ने जनविश्वास छ । किवंदन्तीअनुसार स्थानीय बासे तामाङको गाई तादी नदी किनार छेउको भिरमा बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको थियो । त्यही स्थानमा स्थानीयले दुप्चेश्वर महादेव स्थापना गरेर मन्दिरमा दुई सय वर्षयता पूजाआजा गर्दै आएको जानकार बताउँछन् ।
किवंदन्ती अनुसार समुद्र मन्थन गर्दा निस्किएको विष सेवनपछि छटपटाएका भगवान शिव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएका थिए । त्यसैले दुप्चेश्वर महादेवलाई दोस्रो पशुपतिनाथका रूपमा पुजिने गरेका छन् ।