काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् व्यापारका लागि तथ्यगत आधार प्रस्तुत गरे निजी क्षेत्रलाई पनि अनुमति दिने बताउनुभएको छ ।
परम्परागत तवरले भन्दा पनि परिवर्तित यथार्थमा रहेर जलविद्युत क्षेत्रका निर्णय लिइने स्पष्ट पार्दै उहाँले निजी क्षेत्रले पनि नयाँ ढङ्गले सोच्नुपर्ने समय आएको बताउनुभयो ।
शुक्रबार मन्त्रालय पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इपान)लाई मन्त्री भुसालले विद्युत् व्यापार गर्न सक्छौँ भन्ने विश्वासिलो आधार प्रस्तुत गरे सरकारले अनुमति दिने स्पष्ट पार्नुभएको हो ।
उहाँले तर्क र बहस भन्दा पनि विद्युत् बिक्री गर्न सक्छौँ भन्ने ग्यारेन्टी गरेर आए धेरै विलम्ब नगरिकन अनुमति दिने बताउनु भयो । विद्युत व्यापार संवेदनशील विषय भएको बताउँदै मन्त्री भुसालले विद्युत् परम्परागत तवरलेभन्दा पनि जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भुसालले विद्यमान चुनौतिलाई सामना गर्दै अगाडि बढ्न सके व्यावसायिकरुपमा निजी क्षेत्र सफल र व्यवस्थापकीय पाटोमा पनि सफल हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो नेतृत्व आएपछि विद्युत खपतसहितका अन्य महत्वपूर्ण निर्णय लिएर काम गरिरहेको स्पष्ट पार्नुभयो ।
जलविद्युत विकास र व्यापारका विषयमा मन्त्रालय र प्राधिरण गम्भीर भएर लागेको बताउँदै उहाँले निजी क्षेत्रले मागको विद्युत प्राधिकरणले तत्काल स्वीकृत गरी दिए पनि निजी क्षेत्रका पूर्वाधार तयार नभएकाले तत्काल खपत हुने स्थिति नरहेको जानकारी दिनुभयो ।
विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देवले विभागले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा प्रक्रियागत ढिलासुस्ती हटाउन विभाग लाग्ने विश्वास दिलाउनुभयो । सो अवसरमा इपानका अध्यक्ष कृष्ण आचार्यसहितका प्रतिनिधिले विद्युत् क्षेत्रमा देखिएका समस्याबारे मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।