धरान । नेपाली कांग्रेसले नागरिकलाई स्वस्थ बनाउने र समाजलाई समुन्नत बनाउने अभियान शुरु गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आफु अन्तर्गतको क्षेत्रीय स्वास्थ्य विभागको संयोजन र सम्बन्धित वडा कार्यसमितिको व्यवस्थापनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी अभियान शुरु गरेको हो ।
“ स्वस्थ नागरिक समुन्नत समाज” भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो ।
नागरिक स्वस्थ भयो भने मात्र समृद्धि सम्भव हुने भन्दै समुन्नत समाज निर्माण गर्न नागरिकलाई स्वस्थ बनाउन जरुरी रहेको भन्दै निःशुल्क स्वास्थ्य शिविर र अन्य विविध स्वास्थ्य सम्बन्धित कार्यक्रम गरी नागरिकलाई स्वस्थ बनाउन र समुन्नत समाज निर्माण गर्न नेपाली कांग्रेसले सञ्चालन गरेको अभियानले महत्वपूर्ण टेवा पुग्ने उहाँको विश्वास छ ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापाले जनताको घर आँगनमा स्वास्थ्य शिविर सञ्चालन गरेर पाटीले सामाजिक उत्तरदायित्व वहन गरेको बताउनुभयो ।
हरेक जनतालाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीले शुरु गरेको स्वस्थ नागरिक समुन्नत समाज अभियानले महत्वपूर्ण सहयोग पुग्ने बताउँदै अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
बराहक्षेत्र नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ तथा रामधुनी नगरपालिकाको वडा नं. ६ र ७ लाई लक्षित गरी बराहक्षेत्र वडा नं. ३ स्थित अस्थायी कोभिड अस्पतालमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका ग्यास्ट्रोलोजिस्ट एण्ड हेपेटोलोजी विशेषज्ञ डा. सन्दिप राज बज्राचार्य सहितको टोलीले पेट, ग्याष्ट्रिक, पेनक्रियाज, ठूलो आन्द्रा, पेटको क्यान्सर, दिसाबाट रगत जाने र सुगर तथा प्रेसर लगायतका रोगहरूको जाँच गरेका थिए ।
शिविरबाट निःशुल्क स्वास्थ्य जाँच र औषधि प्राप्त गरी १९४ जना लाभान्वित भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताउनुभयो ।
यस अघि वी.पी. कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, धरानको स्ट्रोक टिम (पक्षघात समुह) को सहयोगमा धरान उपमहानगरपालिकाका वडा नं. ३, ८ र १५ मा समेत अभियान सञ्चालन गरिएको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताउनुभयो । शिविरमा बराहक्षेत्र वडा नं. ३ र ५ तथा अमर पोलिक्लिनिक, धरान १८ को सहयोग रहेको थियो ।