काठमाडौं। साहित्यकार केशरी अम्गाईद्वारा लिखित कथा सङ्ग्रह मुसाको दरबार सार्वजनिक भएको छ। शनिबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा उक्त सङ्ग्रह सार्वजनिक भएको हो।
नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, हिमरश्मि हाइ स्कुलका प्रिन्सिपल लोकेन्द्रबहादुर खड्का, नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य डा कौशिला रिसाल, पत्रकारहरू देवेन्द्र अर्याल, नेत्र तामाङ, माधव घिमिरे 'अटल' लगायतले उक्त कृति सार्वजनिक गर्नुभएको हो ।
कृतिमा ६ वटा कथा रहेको र सबै कथा बाल मनोविज्ञानसँग आधारित रही लेखिएको पाइएको समीक्षात्मक टिप्पणी गर्दै पत्रकार तामाङले बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरूद्वारा लिखित तीनवटा कथासङ्ग्रह, र दुईवटा कवितासङ्ग्रहसमेत विमोचन गरिएको थियो।
यसरी विमोचित किताबहरुमा रश्मी पोखरेल र रहस्य पोखरेलको कवितासङ्ग्रह 'बाल गुञ्जनका आवाजहरु', सेनोरिता थापाको कथासङ्ग्रह 'परित्यक्त छोरी', पल्लवी तामाङको कथासङ्ग्रह 'मुस्कान पछाडिको पीडा, प्रतिष्ठा केसीको कथासङ्ग्रह 'यादका पानाहरु' र प्रविज्ञा कार्कीको कवितासङ्ग्रह 'त्रासको तुर्लुङ र अन्य कविता' रहेको थियो।
बाल कवितासङ्ग्रहबारे समाजका अध्यक्ष प्रधानले समीक्षा गरेका थिए भने विद्यार्थीका कथासङ्ग्रहबारे देवेन्द्र अर्याल ‘आँसु’, माधव घिमिरे ‘अटल’ले समीक्षा गर्नुभएको थियो ।