काठमाडौं । गायक सोनाम बज्यूले आफ्नै शब्द, संगीतमा तामाङ भाषाको सन्देश मूलक ‘दिङ्गिला ल्होछार’ गीत सार्वजनिक गर्नुभएको छ । कुनै समय गीत सङ्गीतमा निकै व्यस्त गायक बज्यूले लामो समय पछि सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि आफ्नो नयाँ गीत सार्वजनिक गर्नुभएको हो ।
उहाँले तामाङ भाषाको गीत ‘दिङ्गिला ल्होछार’ सार्वजनिक गरिएको जानकारी दिनुभयो । गीतमा शब्द सोनाम बज्यू र फूल कुमार बोम्जनको रहेको छ भने संगीत र संगीत एरेन्जर बज्यू आफैले गर्नुभएको छ । गीतमा स्वर सोनाम बज्यु, फूल कुमार बोम्जन, सोनाम लामा, सुमिना लो र रेश्मा बोम्जनले दिनुभएको छ ।
ल्होछारको अवसर पारेर गीतको भिडियो निर्देशन सोनाम लामाले गर्नुभएको छ भने कन्सेप्ट बज्यु आफ्नै रहेको छ । भिडियोमा कलाकार मिलन थिङ्ग, कृष्मा वाइबा, सन्जु थलाङ, सोनाम लामा लगायत रहेका छन् ।
सिन्धुलीको दुधौलीको जगाडीमा छायांकन गरिएको गीतमा तामाङ समुदायको संस्कार, संस्कृतिको बारेमा देखाइएको छ । आफ्नो समुदायको संस्कारसंस्कृति चाडपर्व, भाषा नयाँ पुस्ताले बिस्तारै बिर्संदै गएको हुँदा जर्गेना गर्ने उद्देश्यका साथ गीत ल्याइएको गायक बज्यूले बताउँनुभयो । बज्यूले हाल सम्म सय भन्दा धेरै गीतमा शब्द र संगीत दिनुभएको छ भने ५० वटा गीत उहाँ आफैले गाउँनु भएको छ ।
हाल सम्म उहाँले तामाङ र नेपाली भाषामा पाँचौं सोलो एल्बम बजारमा ल्याइसक्नु भएको छ । गायक तथा संगीतकार बज्यूको पहिलो एल्बम तामाङ भाषामा ‘ताफोले म्हेन्दो’ र नेपालीमा ‘जुन’ ल्याउनु भएको थियो ।
हाल गायक बज्यू सिन्धुलीमा विद्यालय सञ्चालन गरेर बस्नु भएको छ भने फुर्सदमा गीत सङ्गीतलाई समय दिदै आउँनु भएको छ । कुनै समय पुरा गीत सङ्गीतमा लाग्नु भएका बज्यूले अहिले गीत संगीत भन्दा पनि आफ्नो पेशामा समय दिइरहनु भएको छ । अब भने वर्षमा एउटा गीत ल्याउने योजना रहेको बताउँनुभयो ।
https://m.youtube.com/watch?v=t7TbwbMeJ1Y&si=VmW0I6opnGHs1kuj&fbclid=IwAR0kXNpEnfXnBzia08MJJcTe8GUw8JeNRpZXTBFidk1420Y7bZgI_R1l-Wg