काठमाडौं । तामाङ रिमठीम पर्यटन सञ्जालले तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार मनाएको छ ।
मञ्जुश्री सम्वत् २८६० औं मु पुख्री (डुक) ल्होको अवसरमा सञ्जालले सोमबार काठमाडौंको होटल मर्स्याङ्दीमा 'शुभकामना आदान–प्रदान कार्यक्रम' आयोजना गरी सोनाम ल्होछार मनाएको हो । सञ्जालकी अध्यक्ष पर्यटन व्यवसायी सरिता लामाको अध्यक्षता र संघीय सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा ल्होछार कार्यक्रम गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघीय सांसद तामाङले काठमाडौं वरिपरि तामाङ बस्तीमा पर्यटन क्षेत्र प्रवर्द्धन गर्न सञ्जालले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा देखिएको आर्थिक मन्दीलाई उकास्ने एउटा क्षेत्र पर्यटन भएको भन्नुहुँदै पूर्वमन्त्री तामाङले संस्थाले अघि सार्ने योजनामा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
विशेष अतिथि संघीय सांसद सूर्यमान दोङ रहनुभएको कार्यक्रममा वाग्मती प्रदेश सरकारका पूर्वमन्त्री निमा लामा, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङलगायत पर्यटन क्षेत्र सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा डा मुक्तसिंह तामाङले तामाङ संस्कार, संस्कृति, आफ्नो समुदायबारे तामाङहरुले बुझ्नु पर्ने विषयमा प्रस्तुति दिनुभएको थियो ।
उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि,आमन्त्रित महानुभावहरु, पत्रकारलगायत सबैलाई तामाङ पर्यटन रिमठिम सञ्जालकी अध्यक्ष लामाले आभार प्रकट गर्नुहुँदै आगामी दिनमा पनि सहयोग र सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो ।
यस वर्ष तामाङको ल्होछारको मुख्य दिन माघ २७ गते परेको छ ।