घलेञ्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेगाउँका चन्द्रबहादुर थापा भैँसी फार्मको धन्दा सकेर घरतर्फ जाँदै हुनुहुन्थ्यो । बाटोमा भेटिनुभएका थापाले करिब १३ लाख रुपैयाँ लगानीमा ४ लैनो भैँसी, १ गाई र १ भैँसी बकेर्नो राखेर फार्म खोलेको जानकारी दिनुभयो । उहाँको घर र फार्म करिब १५ मिनेटको पैदल दुरीमा रहेको छ ।
'स्वदेशमा केही गरौं भनेर ६ वटा गाईभैंसी राखेर सुरुआत गरेको छु । क्रमिक रुपमा बढाउने योजना पनि हो । मेरो अहिले दैनिक ३० लिटर दूध उत्पादन हुन्छ', झन्डै ७ वर्ष विदेशमा परिश्रम गरी फर्किनुभएका थापाले भन्नुभयो, 'विदेशमा १८ घण्टा खट्छौं, त्यहीअनुसार यहाँ पनि खटियौं भने हामीले केही उत्पादन गर्न सक्छौं । जीविकोपार्जन गर्न सक्छौं भन्ने हिसाबले र डेरी पनि नजिकै भएकोले यो व्यवसायतिर लागेको हुँ ।'
चन्द्रबहादुर थापा र उहाँको भैँसी फार्म । तस्बिर : ग्लोबल मिडिया
थापाले सुरुवाती समयमै व्यवसाय राम्रो रहेको बताउँदै स्थानीय सरकार वा दातृ निकायले आफूहरुजस्तै किसानलाई सहयोग गरिदिए सहज हुने अपेक्षा राख्नुभयो । 'हामीले काम गरेअनुसार पालिका, अन्तरपालिकाले वा दातृ निकायले सहयोग गरिदियो भने आत्मबल बढ्छ । गाईभैँसीलाई लाग्ने रोगबाट बचाउन औषधि, उपचारमा पालिकाले सहयोग गरेमा किसानलाई केही राहत हुन्छ । त्यो भयो भने मान्छेहरुमा जोस, जाँगर, हौसला बढ्छ ।'
व्यावसायिक पशुपालन गर्ने त बढ्दैछन् नै, एक/दुई वटा गाईभैँसी पालन गर्ने स्थानीय पनि धेरथोर दूध बेचेर आम्दानी गर्न थालेका छन् । गौमती दूध संकलन केन्द्रमा दूध ओसार्ने किल्टीसहित भेटिनुभएका वडा नम्बर ३ कै उद्धव थापा भन्नुहुन्छ,'एउटा भैँसी छ, बिहानको दूध बेच्छु, बेलुकाको घरपरिवारले नै खान्छौं ।'
चन्द्रबहादुर र उद्धव त प्रतिनिधि पात्रमात्र हुनुहुन्छ । यस भेगका किसानहरु विस्तारै व्यावसायिक पशुपालनतर्फ लागेका छन् । पञ्चकन्या गाउँपालिका पशु सेवा शाखा प्रमुख उद्धवप्रसाद पाण्डेले पालिकामा फार्म दर्ता गरेरै किसान व्यावसायिक पशुपालनतर्फ लागेको बताउनुभयो । गत आर्थिक वर्ष मसान्तसम्मको विवरणमै व्यावसायिक पशुपन्छी फार्महरु शाखामा दर्ता हुने संख्या १७ वटा रहेको उहाँले जानकारी दिनुभयो ।
यी हुन् पञ्चकन्या गाउँपालिकामा दर्ता भएका फार्महरु [आर्थिक वर्ष २०७८/0७९ अपडेट बाँकी]
पछिल्लो समयमा पालिकामा पशुपालनतर्फ कृषकको संख्या उल्लेख्य वृद्धि भएको भन्दै पशु सेवा शाखा प्रमुख पाण्डेले प्रस्ट्याउनुभयो, 'वडा नम्बर ५ अलि व्यावसायिक पशुपालन बढेको छ । कारण राजधानी काठमाडौंको दूरी नजिक र मध्यपहाडी लोकमार्गको पहुँच भएकोले । वडा नं ३ मा पनि राम्रो छ । दूध उत्पादन बढेको छ । फार्म दर्ता गर्ने किसानहरु पनि बढिरहेका छन् । जीविकोपार्जन गर्न गाईवस्तु पाल्ने किसानहरु विस्तारै फार्म दर्ता गरेर दुधालु गाईभैँसी पालनमा लागेका छन् ।'
पालिकाले किसानले पालेका पशुहरुको बिमा गरिदिने, गोबर परीक्षण, जुका, नाम्लेको औषधि दिनेलगायत सेवा हरेक वडामा सेवा केन्द्र खोलेर दिइरहेको पनि प्रमुख पाण्डेले बताउनुभयो ।
पशु सेवा शाखा प्रमुख पाण्डे : फाइल तस्बिर
पशु सेवा शाखामा पर्याप्त बजेट नहुँदा जिल्ला, प्रदेश, केन्द्रसमक्ष घाँस काट्ने मेसिनलगायत औजार सिफारिस गर्ने र उन्नत खालका बिज वृद्धिको कार्यक्रमहरु पालिकाले सञ्चालन गरिरहेको भन्दै प्रमुख पाण्डेले कृषकलाई स्रोत व्यवस्थापन गर्ने र प्राविधिक सेवा दिनरात दिइरहेको बताउनुभयो ।
गौमती दूध संकलन केन्द्रकाका सञ्चालक एवं पूर्वक्याप्टेन राम थापाका अनुसार घलेगाउँमा व्यावसायिक पशुपालनको सुरुआत भएको छ । झन्डै ३० लाखको लगानीमा दुई वर्ष अघिदेखि डेरी सञ्चालन गर्दै आउनुभएका पूर्वक्याप्टेन थापा अहिले दूध उत्पादन बढ्दै गएको अनुभव सुनाउनुहुन्छ । 'हामीले डेरी सुरु गर्दा किसानहरुमा जागरुकता भन्ने थिएन । पछिल्लो पिरियडमा आउँदा चाहिँ अनुभव किसानहरुले पनि लिँदैछन् । पहिलेको तुलनामा अहिले धेरै किसानहरु सक्रिय भएर लागीपर्नुभएको छ,' उहाँले थप्नुभयो, '५/७ जनाले त फार्म सञ्चालन गरेर व्यावसायिक रुपमा सुरुवात गरिसक्नुभएको छ ।'
उहाँका अनुसार त्यसभेगमा चन्द्रबहादुर थापा, मानबहादुर थापा, रामशरण पण्डित, जीवन थापालगायत व्यावसायिक पशुपालनमा लागेका छन् । डेरीमा झन्डै ८० जना ग्राहक रहेको उहाँले जानकारी दिनुभयो ।
गौमती दूध संकलन केन्द्रकाका सञ्चालक एवं पूर्वक्याप्टेन राम थापा । तस्बिर : ग्लोबल मिडिया
सुरुका दिनमा ६० लिटर दैनिक दूध संकलन हुने उक्त डेरीमा अचेल सिजनका कारण साढे ४ सय लिटर दूध जम्मा हुने गरेको पनि सञ्चालक पूर्वक्याप्टेन थापाले बताउनुभयो । किसानहरु अझै व्यावसायिक बनिनसकेकोले बजारको मागअनुसार उत्पादन नभएको र काठमाडौंमा ढुगानी गर्दा केही समस्या रहेको भन्दै विस्तारै बजारको माग धान्नतिर किसान लाग्ने अपेक्षा उहाँको छ ।
मुलुकमा संघीय व्यवस्था सुरु भएपछि बनेको गाउँपालिका वा स्थानीय सरकारले सडक यातायातलाई प्राथमिकता दिएर निर्माण अगाडि बढाएपछि गाउँमा डेरी सञ्चालन गर्न सहज भएको हो । स्थानीय रुपमा दूध बिक्री गर्ने बजार नभएकोले केन्द्रीय राजधानी काठमाडौंमा ओसार्ने गरिन्छ । सुरुका दिनमा काठमाडौंमा दूध ढुवानी गर्दा निकै गाह्रो परेको भन्दै पूर्वक्याप्टेन थापाले अहिले सडक स्तरोन्नति हुँदै गएकोले सहज हुन थालेको अनुभव सुनाउनुभयो ।
'सुरुका वर्ष हामीलाई धेरै नै चुनौती भयो । कतिपय बेला म्यानपावरबाट बोकाउनुपर्यो । बर्खाको समयमा गाढामा समेत बीचसम्म पुर्याउनु पर्ने अवस्था भयो,' उहाँले भन्नुभयो, 'गत वर्षभन्दा अहिले केही सुधार भएको छ । अबको वर्षमा रोटेपानीदेखि दूध डेरी भएको ठाउँ क्याप्टेनडाँडा (स्वाराँबारी) सम्म सडक ग्राभेलका लागि बजेट विनियोजन भएको थाहा पाएका छौं । त्यसकारण आगामी वर्षदेखि त्यो समस्या निराकरण हुँदै जाने हामीले आशा राखेका छौं ।'
दुर्गम ठाउँ, बाटो आदिइत्यादि कारणले ढुवानीमा धेरै खर्च लाग्ने भएकोले किसानलाई भनेजति मूल्य दिन नसकिएको डेरी सञ्चालक थापाले स्वीकार गर्नुभयो । अहिले उक्त डेरीमा बजार मूल्यअनुसार प्रतिफ्याट, प्रतिलिटर १० रुपैयाँमा दूध किनबेच भइरहेको छ । ठाउँअनुसार घलेगाउँमा अन्य पेसा, व्यवसायबाट भन्दा दूध व्यवसायबाट किसानको आर्थिकस्तर उकासिने पूर्वक्याप्टेन थापाको बुझाई रहेको छ ।
पञ्चकन्याको वडा नं १ का प्रेमप्रसाद पाण्डेमात्रै २७ वटा गाइभैँसी पालन गरेको र उनले दैनिक ३ सय लिटरसम्म दूत उत्पादन गरिरहेको जानकारी गराउँदै पशु सेवा प्रमुख पाण्डेले गाउँमा किसानलाई पूर्ण व्यावसायिक पशुपालनतर्फ आकर्षित गराउन स्थानीय सरकार र आफ्नो शाखाबाट सक्दो सहयोग पुर्याउने बताउनुभयो ।
दूध संकलन गर्न डेरीमा पुगेका किसान र डेरीमा काम गर्दै । तस्बिर : ग्लोबल मिडिया