सिन्धुली । जनयुद्ध दिवसको अवसरमा सिन्धुलीको मरिण गाउँपालिकाले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । २९ औं जनयुद्ध दिवसको अवसरमा सहिद परिवार सम्मान एवं नगद हस्तान्तरण र छात्रवृत्ति वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष विमर्श मुक्तानको अध्यक्षता तथा प्रदेश सांसद मातृका भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३९ जना सहिद परिवारलाई नगद हस्तान्तरण र ७१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।
गएको वर्ष जस्तै यसवर्ष पनि ३९ जना सहिद परिवारलाई सम्मान गर्नुका साथै प्रतिव्यक्ति २० नगद हस्तान्तरण गरिएको हो । अध्यक्ष मुक्तानको कार्यकालभर सहिद परिवारलाई एक लाख रकम पुर्याउँने लक्ष्य राखिएको छ ।
संघीय गणतन्त्र प्राप्तिको लागि सहिदको महत्वपूर्ण भूमिका भएको हुँदा उनीहरूको योगदानको कदरको लागि मरिणले प्रत्येक वर्ष कार्यक्रम गर्दै आइरहेको छ ।
यस्तै मरिणले पूर्व प्रा. वि देखि कक्षा १२ सम्मका ७१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । मरिण गाउँपालिका स्थायी ठेगाना भई विभिन्न विद्यालयमा अध्ययन गर्ने अनाथ तथा द्धन्द्ध पीडित परिवारका बालबालिकालाई अध्ययनमा निरन्तरताको लागि छात्रवृत्ति वितरण गरिएको पालिकाले जनाएको छ ।
पूर्व प्रा. वि देखि कक्षा ३ सम्मका २४ जना विद्यार्थीलाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँ, कक्षा ४ देखि ५ का १० जना विद्यार्थीलाई प्रतिव्यक्ति ६ हजार रुपैयाँ वितरण गरिएको छ ।
यस्तै पालिकाका अनुसार ६ देखि ८ सम्मका २१ जना विद्यार्थीलाई प्रतिव्यक्ति ८ हजार, ९ देखि १० कक्षा सम्मका १२ जना विद्यार्थीलाई प्रतिव्यक्ति ९ हजार र ११ देखि १२ सम्मका ४ जना विद्यार्थीलाई प्रतिव्यक्ति ११ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । कार्यक्रम विगत ६ वर्ष देखि निरन्तर सञ्चालन गर्दै आइरहेको पालिकाले जनाएको छ ।
पालिकाले जनयुद्ध दिवसको दिन सम्झेकाेमा सहिद परिवार निकै खुशी थिए । कार्यक्रममा विभिन्न स्थानीतहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सहिद परिवार लगायत विभिन्न व्यक्तित्वहरूकाे उपस्थिति रहेको थियो ।